बिहीबार, वैशाख १३, २०८१
17:46 | २२:३१

अनुत्तरित प्रश्न

स्वप्निल देवकोटा सेप्टेम्बर ९, २०२१


आखिर मृत्यु के हो ? के मृत आत्मा मरेपछि यहि संसारमा रहन्छ? मृत्यु पछि के हुन्छ ? सधैं चासोमा रहने गर्छ यो प्रश्न मेरो निम्ति। महाभारत, रामायण, गीता, वेध, अन्य पुराण, चर्चा परिचर्चा समस्त ठाउँमा आफ्नो अनुत्तरित यो प्रश्नको उत्तर खोज्दै पनि गएकी हुँ, तर कतै तृप्त हुन भने सकिनँ।

सदा झैँ कलेज जाने क्रममा ’लेटेस्ट फ्यासन ट्रेन्ड’ खोज्दै आफूलाई यस समाजको एउटा भागमा सम्मेलित गर्न खोजिरहेकी थिएँ । खास्सै श्रृंगार गर्न आउने व्यक्तित्व नभए पनि सजिन मन गर्दो रहेछ यो उमेरमा ।  उमेर– २० वर्ष, भन्छन्  तातो रगतको उमेर यो, होला पनि, के थाहा र !

“बिस्तारै है नानु, हतार नगरी जानु” भन्दै गरेको बुवाको आवाजलाई सुने नसुने गर्दै, “ल गए है ! ढिलो भो ! बाइ मामु” भनेर हश्याङ फश्याङ म बुवालाई केहि नभनी हिँडे ! अलि ठाक ठुक परेको थियो बुवासंग ! परिरहन्छ नि हरेक परिवारमा । हो सोहि प्रकारको !

लाइसेन्स नहुंदा सरर स्कुटर लिएर कलेज जानुको सान नै बेग्लै हुन्छ जस्तो लाग्थ्यो ! आफूलाई कलेजले नगर भनेको कुरा गर्न पाउँदा केकेन गरें भन्ने भाव आउँथ्यो । भने नि अघिनै, तातो रगतको उमेर ! बिगार गर्न पाउँदा आनन्द लाग्दो हो !

११ बजे कलेज, ट्राफिक अत्यन्त बढी हुने समय । अफिस आवर ! कलेजमा आज ठुलो कार्यक्रम हुने वाला थियो । म आँखा चिम्लेर आफ्नो स्कुटरको स्पिड बढाउँदै गइरहेको थिएं ।  बाटो काट्ने समयमा लुकिङ ग्लासमा हेर्दै बाटो काट्दै थिएं।  अचानक आफू केहिसंग ठोकिएको अनुभव भयो। सायद अलि जोडले नै लग्यो क्यारे आफूले आफूलाई महसुस गर्न सकिरहेको थिइन । फोक्सोमा हावा नभए जस्तो महसुस गर्दै थिए।  उठ्ने प्रयास पनि गरें, आफ्नो वरीपरि हेर्ने प्रयास पनि गरेँ तर सकिरहेको थिइन।  कस्तो भारहीन महसुस हुँदा हुँदै आँखा अगाडि अन्धकार छायो।

कुन्नि कति बेर पछि बिउझिँए ! सुरुमा सेतो प्रकाश बाहेक केहि देखिएन ।  बिस्तारै आफ्नो वरीपरि के छन् देखिँदै थिए ।  मेरी मामु बाबा आँखा भरि आँसु लिएर मेरो सामु बसेको पाएँ ।   बहिनी मामुलाई अंगालेर रोयिरहेको देखेँ ।  मेरा सबै आफन्त जनहरु, मित्रहरु निशब्द स्तब्ध मलाई हेरिरहेको देखेँ। सबै किन यस्तो गम्भीर? “म ठिक छु अहिले” भन्न मुख खोल्ने प्रयासमा आवाज नै ननिस्केको पाएँ। आफू हलुङ्गो भएको महसुस भएर तल हेर्दा आँफैलाई बाँस माथि काँत्रोमा बेरिएर पल्टिरहेको देखेँ । मलाई बल्ल आभास भयो कि मैले स्वास फेरिरहेको थिइन।

“छोरी सारै ज्ञानी थिइन् रे है ?” भन्दै गरेको आवाज टाढाबाट आइरहेको थियो, मामुले सुनिश्यो क्यारे बरबरी आँसुका धारा बगे। यो सब के भयो ? एकछिन मलाई कोहि सुनिदिश्यो।  कोहि अली हेरिदिश्यो। म चिच्याई रहेको थिएँ तर मेरो आवाज कसैको कानमा गुञ्जयमान भएन !

“अब लास जलाउन लाग्ने बेला भयो” भनि पण्डितजीले भनेको सुनें । “म लास होइन ! मेरो आवाज सुन्नुहोस । मलाई अझै के के गर्न बाकी छ । कहाँ कहाँ पुग्नु छ । मलाई यहाँबाट नलग्नुहोस् । ”म चिच्याई रहेकै थिएँ ।” 

मेरो शरिर काँधमा बोकी मेरा दाजुभाई हिडिरहेका थिए ।  मैले उहांहरुलाई स्पर्स गर्न खोज्दा केवल हावालाई छोए झैँ भयो ।  कति रोई कराई गर्दा पनि मेरो आवाज कोहिसम्म पुग्न सकेन।

मलाई बिस्तारै पशुपतिको आर्यघाटसम्म लगि रहिएको छ।  

अहिले म आफैलाई काठका थुप्रोमाथि निस्वास विवश पल्टिरहेको हेरिरहेको छु। मलाई आगोमा समाहित नगर्दिनुहोस्  । मेरा धेरै सपना अकांक्षाहरु बाँकी छन् । मेरो थुप्रो कार्य अधुरो छ । बुवासंग बोल्न बाँकी नै छ । बहिनीलाई किनिदिएको लुगा दराज मै छ । दिन बाँकी छ । मामुसंग कत्ति कुरा गर्ने बाकी छ । मेरो शरिरलाई अग्नि दिँदा म आफै जलिरहेछु तर मलाई तातो चिसो केहि आभास छैन । 

आखिर मृत्यु के हो ? के मृत आत्मा मरेपछि यहि संसारमा रहन्छ? मृत्यु पछि के हुन्छ ? सधै चासोमा रहने गर्छ यो प्रश्न मेरो निम्ति। सायद आज बुझ्ने छु तर कसैलाई बुझाउन भने नसकुंला । मेरो सामु एउटा सेतो प्रकाश छरिएको छ।  त्यसलाई अंगाल्दै कता पुग्छु हेर्ने छु। यहि प्रकाशमा समाहित हुँदै छु। आफ्नो पूर्ण शब्द कसै माझ पुर्याउन नपाउँदै कुन्नि कता बिलाउँदै छु।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू