शुक्रबार, वैशाख १४, २०८१
22:19 | ०३:०४

नेपाललाई ‘रेड लिष्ट’ बाट हटाउन पहलका लागि दूतावासमा ज्ञापन

नेपाली लिङ्क सेप्टेम्बर ८, २०२१

लन्डन । यूके नेपाल फ्रेण्डसीप सोसाइटी र रोजीहिरा फाउण्डेशनले बेलायतले नेपाललाई ‘रेड लिष्ट’ मा राखिरहंदा आमसमुदायमा समस्या परेको भन्दै त्यो हटाउन पहलका लागि दूतावासमा ज्ञापन बुझाएका छन् ।

बुधबार रोजीहिरा फाउण्डेशनकी अध्यक्ष रोजिनाप्रधान राईले दूतावास गएर राजदूत लोकदर्शन रेग्मीलाई ज्ञापन बुझाएकी हुन् ।

ज्ञापनमा बेलायत सरकारको मन्त्रिस्तरीय तहमा वार्ता गरेर उक्त लिष्टलाई ‘एम्बर’ मा राख्न पुनर्विचारका लागि पहलको माग गरिएको छ ।

सोसाइटीका सिइओ तथा निर्देशक एलान मर्सेल सान्का र फाउण्डेशनकी अध्यक्ष रोजिनाले हस्ताक्षर गरेको उक्त ज्ञापनमा अहिले नेपालमा कोभिड संक्रमण घटिरहेको स्मरण गराउंदै यही लिष्टका कारण अधिकांश नेपालीहरुले आफ्नो मौलिक महान चाडपर्वमा समेत पारिवारिक पुनर्मिलन गर्न वञ्चित रहेको बताइएको छ । ‘रेड लिष्ट’ मा रहंदा पर्यटनमा आश्रित नेपालको पर्यटन समेत नराम्रोसंग प्रभावित भएको उल्लेख छ ।

अध्यक्ष राईले ज्ञापनपत्र पढेर सुनाउंदै राजदूत रेग्मीलाई हस्तान्तरण गरेकी थिइन् । राजदूतले उक्त ज्ञापनमा उल्लेखित माग सान्दर्भिक, जायज भएको र आफ्नो तर्फबाट छिट्टै पहल गर्ने बताएका थिए । राजदूत रेग्मीले महत्वपूर्ण विषय उठान गरेकामा धन्यवाद समेत दिएको राईले बताइन् । सो अवसरमा दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र सोसाइटीका सल्लाहकार हिराधन राई पनि सहभागी थिए ।

सरकारले अन्य देशबाट बेलायत भित्रंदा कोभिडको हानिकारक भेरियन्ट फैलन नपाओस् भनेर रेड, एम्बर र ग्रीन गरि तीन लिष्ट निर्धारण गरेको छ ।

‘रेड लिष्ट’ मा रहेका देशबाट आउने यात्रुले १० दिन (११ रात) होटल क्वारेन्टिन बस्दा एक कोठाको प्रति व्यक्ति २२८५ पाउण्ड, ११ वर्ष माथिकाले अतिरिक्त प्रति व्यक्ति १,४३० पाउण्ड र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउण्ड तिर्नुपर्नेछ । पांच वर्ष मुनिकालाई निशुल्क छ ।

होटल क्वारेन्टिन नियम उल्लंघन गरे १० हजार पाउण्डसम्म जरिवाना र जेल सजाय छ । यात्रा गर्नु तीन दिनअघि, बेलायत आइसकेपछि दोश्रो र आठौं दिनमा पिसिआर परीक्षण गरि नेगेटिभ रिजल्ट पेश गर्नुपर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू