बुधबार, वैशाख २६, २०८१
22:17 | ०३:०२

ग्रीनवीच भलिबलको उपाधि मोना र अल्डरसटलाई

नेपाली लिङ्क अगस्ट १६, २०२१

विजेता मोना यूके टीम

लन्डन । ग्रीनवीच भलिबल परिवारद्वारा आयोजित यस वर्षको खुला भलिबल प्रतियोगिताको उपाधि दुई टीमले बांडेका छन् ।  

आइतबार वुल्लिचको रोयल आर्टिलरी ब्यारेकको खेल मैदानमा सम्पन्न प्रतियोगितामामा मोना यूके र अल्डरसट भलिबल क्लब दुवै विजेता घोषित भए ।  

निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा दुवै टीमले २/ २ सेट जितेर बराबरी गरेपछि उपाधि बांडेर दुवै टीमलाई विजेता घोषित गरिएको हो ।

समय अबेर भइसकेका कारण अन्तिम निर्णायक सेट खेलाउनुको सट्टा दुवै टीमको सहमतिमा उनीहरुलाई विजेता बनाइएको आयोजक ग्रीनवीच भलिबल परिवारका सचिव कृष्ण खरेलले जानकारी दिए   

प्रतियोगिताको प्रथम पुरस्कार साढे १२ सय पाउन्ड र दोस्रो पुरस्कार ७ सय पाउन्ड पनि दुवै टीमले बांडेका छन् । विजेताको ट्रफीका लागि टस गराउँदा अल्डरसट भलिबल क्लबले हात पार्यो ।

विजेता अल्डरसट भलिबल क्लब टीम

३ सय पाउन्ड नगदसहितको तेस्रो पुरस्कार भने आयोजक ग्रीनवीच भलिबल परिवार ए टीमले प्राप्त गर्‍यो ।

त्यस्तै, प्लेयर अफ द टुर्नामेन्ट मोना यूकेका खेम् भण्डारी, बेस्ट स्पाइकर ग्रीनवीच भलिबल परिवारका सञ्जय गुरुङ, बेस्ट लिफ्टर अल्डरसट भलिबल क्लबका स्वर्ग गुरुङ, इमर्जिङ प्लेयर फोक्सटन भलिबल क्लबका विजय तामाङ पुरस्कृत भए   

विजेता टीम तथा खेलाडीहरुलाई प्रमुख अतिथि एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर, आयोजक ग्रीनवीच भलिबल परिवारका अध्यक्ष रविन्द्र रोका मगर लगायतले पुरस्कार वितरण गरेका थिए ।  

त्यसअवसरमा एनआरएनए यूके निवर्तमान महासचिव फडिन्द्र भट्टराई, पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, पशुपतिनाथ मन्दिर लन्डनका अध्यक्ष दासुराम पाण्डे, मगर संघ प्लमस्टिड अध्यक्ष दलबहादुर राना, जमघट परिवार अध्यक्ष ब्रुसकुमार थापा, आरजीएनएस उपाध्यक्ष पुण्य रेग्मी र महासचिव मन्जु भण्डारी, पशुपतिनाथ मन्दिरकी सहसचिव राधा खरेल लगायत अतिथिको उपस्थिति थियो ।

प्रतियोगितामा रेफ्रीको भूमिका नेपालका मान्यताप्राप्त राष्ट्रिय रेफ्रीद्वय जीवन गुरुङ र विनोद चन्दले निभाएका थिए । त्यस्तै, कार्यक्रमको संचालन र लाइभ कमेन्ट्री विनोद ज्ञवालीले गरेका थिए ।  

यसअघि प्रतियोगितामा बेलायतका विभिन्न क्षेत्रबाट एक दर्जन टीमहरुले भाग लिएका थिए । लिग प्रणालीबाट खेलाइएको खेलमा हरेक टीमबीच प्रतिस्पर्धा गराइएको थियो ।   

प्रतियोगिताका लागि विनोद ज्ञवाली, रोमनाथ पाण्डे, भोजराज कंडेल, जमघट परिवार, आरजीएनएस लगायतले स्पोन्सर गरेका थिए ।

प्रतियोगिता सफल पार्न आयोजक ग्रीनवीच भलिबल परिवारका अध्यक्ष रविन्द्र रोका मगर, सहसचिव कर्मा पहाडी शेर्पा, कोषाध्यक्ष राज कटुवाल,युवा संयोजक कुमार गुरुङ र अमर गुरुङ, सदस्यहरु वसन्त पौडेल, निराजन खड्का र चन्द्र पुन, संरक्षकत्रय विनोद ज्ञवाली, कमल राना र खड्क रेश्मीसहित खटिएका थिए ।

ग्रीनवीच भलिबल परिवारका अध्यक्ष रविन्द्र रोका मगरले प्रतियोगितामा सहभागी सबै खेलाडी, रेफ्री, प्रायोजक एवम् सहयोगदाता, उपस्थित अतिथि एवम् दर्शक र कार्यक्रम सफल पार्न खटिने परिवारका सबै सदस्य एवम् खेलाडीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू