बिहीबार, जेठ ३, २०८१
22:18 | ०३:०३

नाता

कथा

उमेश रेग्मी अगस्ट १५, २०२१

उमेश रेग्मी

प्रकाशको घरमा धेरै घुइचो थियो। कोहि प्रकाशलाई दाइ भन्दै थिए त कोहि भाइ। कोहि उसलाई काका भनेर बोलाउंदै थिए भने कतिको उ भतिजा बनेको थियो। मामा भन्नेहरुको कमि थिएन त्यो घुइचोमा। उसलाई भानिज बाबु भनेर बोलाउने पनि उत्तिकै भेटिन्थे। गोरु बेचेको साइनो लगाउनेहरुको जमात पनि ठुलै थियो। प्रकाश सबैको नातेदार बनेको थियो।

एक महिना अगाडि मैले उसलाई भेट्दा भनेको थिएं, “हेर प्रकाश अब तिमी ठुलो मान्छे भयौ। नातेदारहरु आफसेआफ बढछन्। सम्भालिएर बस्नु। दाजु र भाइ खोज्न टाढा जानु पर्दैन तिमीले।” नभन्दै त्यो दिनको घुइचोमा प्रकाशले भएजति आफन्तहरु भेटेको थियो। शायद जिन्दगीमा पहिलो चोटी। उसले त्यहाँ आफुलाई छोरा भन्ने पनि भेटेको थियो अनि कतिले उसलाई बुवाको संज्ञा पनि दिइरहेका थिए। अकस्मात यति धेरै इष्टमित्रहरु देख्दा उ हर्षित त थियो नै तर अचम्म के मा लागिरहेको थियो उसलाई भने यतिका दिनसम्म यी नातेदारहरु कहाँ थिए। किन अहिले सम्म यिनीहरु देखा परेनन् !

म पनि साथीको नाता लगाएर पुगेको थिएं त्यो घुइचोमा सामेल हुन। मलाइ देख्ने बित्तिकै सोध्यो प्रकाशले, “हे दाइ, तिमीले भने जस्तै आज मेरा अनगिन्ति नातेदारहरु देख्दा म अचम्भित भएको छु।” उसले मलाई नाता लगायो ‘दाइ’ सम्बोधन गरेर। म ताज्जुब भए हिजो अस्तिसम्म मित्र भनेर बोलाउने मान्छेले आज दाइ सम्बोधन गर्दा। उल्टो भएझैं भान भयो मलाई । मैले नाता लगाउनु सट्टा उसले नाता गास्यो म संग। कारण बुझ्न सकिन तर त्यो भिडमा सोध्न पनि मन लागेन। एक प्रकारले मन प्रफुल्लित भयो मेरो उसले दाइ भनेको सुनेर।

सांसद भएको खुशीयालीमा प्रकाशलाई बधाई दिन पुगेको म पनि अरु जस्तै प्रकाश र मेरो नाताको बखान गर्दै बस्न थाले त्यहि आगन्तुक अन्य उसका नातेदारहरुसंग। थाहा थिएन मलाई कुन सहि नाताका हुन् अनि कुन गोरु बेचेको साइनो गास्दै आफ्नो दुनो सोझ्याउन त्यहाँ आएका हुन्। अचम्मको कुरा चाहिं सबै प्रकाशका नजिकका नै थिए।

पोहोर साल काठमाडौँ आउँदा एक्लो थियो प्रकाश। बिहे भइसकेको भएपनि सन्तान भएको थिएन उसको। गाउँमा स्वास्नी अर्कैसंग पोइल गएकी खबरले धेरै दिनसम्म विक्षिप्त अवस्थामा रहंदा मैले नै उसको स्याहार गरेको थिएं । त्यो बेला कोहि थिएनन् वरपर। तर त्यो भिडमा सबै थिए। सबै उसका थिए अनि उ सबैको थियो। स्वास्नी पोइल गएपनि उसलाई भिनाजु भनेर बोलाउने सुन्दरीहरुको कमी थिएन त्यो भिडमा। त्यस्तै सालाहरुको छुट्टै जमात थियो, तिनै सुन्दरीहरुको वरिपरि भुन्भुनाइ रहेका मौरीका बथान सरह। केहि अधवैंशे आइमाईहरु उसलाई देवर भन्दै उसको तारिफको पुल बाँधिरहेका थिए।

अनायासै उ धेरै भलादमी, धेरै मेहनती र सहयोगी बनेको थियो। उ समाज सुधारक बनेको थियो अनि राष्ट्रलाई चाहिने एउटा कुशल नेता।

स्वास्नी पोइल गएको खबरले मर्माहत भएको बेला उसको बिलौनाहरुले मेरो मन नरोएको होइन। त्यतिखेर मलाई  लाग्थ्यो, “यो एक्लो प्रकाशले के गर्छ होला भविष्यमा।” बिचरा ! कोहि थिएनन् उसका। बुवा आमा सानैमा बितेका अरे। एउटी बहिनी छिन् अरे तर उसलाई पत्तो छैन कहाँ छिन भन्ने। त्यो अवस्थाको प्रकाश अहिले नातागोताको सम्पत्तिले भरिपूर्ण भएको छ।

सांसद हुनु अघि भूमिगतको बेलामा या भनौं काठमाडौँ आउनु अघिको उसको समय बिना नातागोता नै बितेका भने होइनन् । भूमिगत हुँदा पनि प्रकाशका नातेदारहरु जम्मा भइसकेका थिए।

फरक त केवल सम्बोधनमा थियो। नम्बर ३ को संज्ञा पाएको प्रकाश नम्बर ५ को सहोदर भाइ नै भने पनि हुने थियो। नम्बर ४ र नम्बर ६ का कमरेडहरु उसलाई दाइ भन्थे। उता अर्कै खेमाकी नम्बर २ कि सुन्दरी प्रकाश भने पछि भुतुक्कै हुन्थी। उनीहरुमा ‘बिहे नभएको’ श्रीमान श्रीमतिको नाता गाँसिएको थियो। शायद यहि कारणले होला उसकी विवाहित श्रीमती अर्कैसंग सल्केकी।

भूमिगत हुँदा खेरि शुरुका दिनहरुमा उसको ‘एम्बुस’ बनाउने कलाबाट प्रभावित बनेका कमाण्डर, प्रकाशलाई त्यहि बेला देखि नै ‘नम्बर ३ मेरो दायाँहात’ भन्ने नाताले बोलाउने गर्दथे। उसको एम्बुसमा परेर कतिले ज्यान गुमाए अनि कति जिवितै भए पनि आजीवन अपांगता सहेर बस्न बाध्य भए त्यसको कुनै हिसाब न उसले राख्यो न तिनै कमाण्डरले। फगत स्यावासी र सांसद बनाइदिने आश्वासन भने उसले प्राय पाई नै रहन्थ्यो।

भूमिगत जिवन त्यागी सकेको कैयौ बर्ष पछि उ अकस्मात सांसद बनेको थियो अनि पैदा भएका थिए उसका असंख्य नातागोताहरु। त्यहि नातागोताको संख्यामा एउटा नम्बर थप्न पुगेको म उसका विगतहरु केलाउन थाले। “उसलाई म कसरी समाजसुधारक र सहयोगी भनौं जसले कैयौ आमाहरुलाई रुवाएको थियो, कैयौ बाबाहरुका सपना चुडेको थियो। कैयौ बिधवाहरुले सायद सरापेका थिए होलान् त्यसैले उ स्वास्नी पोइल गएको पिरलो आजसम्म सहंदैछ। अनाथ भएका ति नाबालकहरुको पुकार सुने होलान्  इश्वरले पनि त्यसैले प्रकाश सन्तान बिहीन छ। के गर्नु यी अवसरबादी नाताहरु जुन क्ष्यणिक हुन्छन् कुर्सी छउन्जेललाइ मात्र।”

विभिन्न विचारहरुले मेरो मष्तिस्क उथलपुथल हुन थाल्यो। शायद म टोलाई रहेको रहेछु। प्रकाशले देखेछ। नजिकै आयो उ एक अर्को व्यक्तिसंग र सोध्यो, “दाइ, के भयो निकै गम्भीर देखिनु हुन्छ ?” प्रश्नको साथै संगै आएको व्यक्तिको परिचय गरायो मलाई । उ भूमिगत बेलाको नम्बर ६ रहेछ। भलाकुशारी पश्चात नम्बर ६ ले भन्यो, “खै, हाम्रो पालो कहिले आउने हो ! हुनत म प्रकाश भन्दा पहिले भूमिगत भएको। आफुले मान्छे मार्न जानिन। व्यवस्थाको सुधार गर्न अवाज उठाएको मात्र हो। मर्ने र मार्ने को संधै विरोध गरेर बसियो। तानाशाहीको लहै लहैमा लागेर कुकृत्य गरिएन। त्यसैले होला आफ्नो सांसद बन्ने पालो पनि आएन।” उनी लामो सुस्केरा हाल्दै मौन भए एक छिन। फेरी बोले, “हेर्नुस् यहाँ सबै कुर्सीका नातेदार रहेछन् । कुर्सी छैन त नाता पनि छैन। मेरो आफ्नै भाइ आज मलाई दाइ भन्दैन। बाटोमा भेट्दा नचिने झैँ गर्छ। सबै स्वार्थी र अवसरवादी भएको यो जमातमा एक्लो भएकै ठिक बरु। नाता लगाएर काम फत्ते गर्न खोज्नेको घुइचो बटुलेर किन टाउको दुखाउनु।”

सत्य बोले उनले। मलाई औधि मन परयो उनका भनाइहरु। तर केही टिकाटिप्पणी गरिन त्यतिखेर। आखिर उनी पनि त साइनो लगाएरै आएका थिए प्रकाश कहाँ।

अस्तु 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू