आइतबार, जेठ ६, २०८१
08:19 | १३:०४

बेलायतमा संक्रमणदर एकसातामा ८.६ प्रतिशतले बढ्यो

नेपाली लिङ्क अगस्ट १२, २०२१

फाइल तस्विर

लन्डन । बेलायतमा पछिल्ला दिनमा कोरोना संक्रमण दरमा बिस्तारै वृद्धि हुँदै गैरहेको छ । अघिल्लो हप्ताको तुलनामा ८.६ प्रतिशतले संक्रमण दर बढेको अधिकारीहरुले बताएका छन् ।

कोरोनाका कारण पछिल्लो २४ घन्टामा ३३ हजार भन्दा बढी संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । एक सातामा करिब दुई लाख जनामा कोरोना संक्रमण पुष्टि भएको सरकारी तथ्यांकले देखाएको छ । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ६१ लाख ७९ हजार ५०६ पुगेको छ ।

यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा ९४ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । एकसातामा मात्र बेलायतमा ६१५ जना संक्रमितको ज्यान गएको छ ।

यससंगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३० हजार ७०१ पुगेको छ । तर, कोभिडका कारण मृत्यु दर्ता गरिएको प्रमाणको आधारमा भने मृतक संख्या एक लाख ५४ हजार बढी छ ।

संक्रमण दरमा वृद्धि भएपनि अस्पताल भर्ना हुनेको संख्या भने गत साताको तुलनामा ५.४ प्रतिशतले ह्रास आएको छ । पछिल्लो २४ घन्टामा ७३७ जना संक्रमित भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या पाँच हजार ९०९ छ । यस्तै ८७१ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

खोपका कारण ८४ हजारको ज्यान सुरक्षित

कोरोनाविरुद्धको खोपका कारण बेलायतमा करिब ८४ हजार ज्यान सुरक्षित भएको सरकारी तथ्यांकले देखाएको गरेको छ । यसैगरी २३ लाख ४० हजार भन्दा बढीलाई संक्रमित हुनबाट जोगाएको पनि उक्त तथ्यांकमा उल्लेख छ । गएको महिना संक्रमणदर ५० हजार नाघेपनि खोपका कारण मृत्युदरमा भने खासै वृद्धि भएन । अझैपनि संक्रमणदरको तुलनामा मृत्युदर निकै कम हो ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ८ करोड ७१ लाख ८४ हजार ४३८ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ७१ लाख ७०हजार ९६८ जना अर्थात ८९.२ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड १३ हजार ४७० जना अर्थात ७५.७ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू