बिहीबार, चैत १५, २०८०
09:01 | १४:४६

पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए, निर्णय अप्रत्यासित-क्यान

रासस अगस्ट ३, २०२१

काठमाडौँ–नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन् ।

उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भनेका छन् । मैदानभित्र दुई दशक रहुन्जेल मीठो यादका रुपमा आफूसँग रहने उल्लेख गर्दै खड्काले नेपाली क्रिकेटलाई सबैले मिलेर नयाँ उचाइमा पुरयाउने विश्वाससमेत व्यक्त गरेका छन् ।

लामो समय नेपाली राष्ट्रिय टोलीको कप्तानी गरेका खड्काले सम्पूर्ण नेपाली क्रिकेट समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय लिएको बताए । सन् २००२ मा १५ वर्षको हुँदा आफूले क्रिकेट यात्रा शुरु गरेको उल्लेख गर्दै खड्काले आफ्नो जीवनमा देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति रहेको उल्लेख गरेका छन् ।

नेपालमा क्रिकेटको विकासका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता रहेको खड्काको भनाइ छ । यसका लागि सबैमा इमानदारीको खाँचो भएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

तेत्तिस वर्षीय खड्का सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । उनले सन् २०१९ सम्म कप्तानीको भूमिका निर्वाह गरे ।

खड्काले नेपालका लागि १० एकदिवसीय तथा ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेले । दायाँहाते ब्याटस्म्यान उनले यस क्रममा एकदिवसीयमा ३१५ रन बनाए भने टी–२० मा ७९९ रन बनाएका थिए ।

दुवै किसिमका प्रतियोगितामा उनी शतक प्रहार गर्न सफल भएका थिए । खड्काले बलिङसमेत गरेका थिए । उनले १० एकदिवसीय खेलमा नौ विकेट लिएका थिए भने ३३ टी–२० खेलमा आठ विकेट लिएका थिए ।

पारसको निर्णय अप्रत्यासित – क्यान अध्यक्ष
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा नभएको प्रतिक्रिया दिएका छन् ।

क्यान अध्यक्ष चन्दले सन्यास लिने पारसको निर्णय अप्रत्यासित रहेको भन्दै यस विषयमा क्यानमा छलफल भइरहेको र औपचारिक धारणा आउने बताए । “पूर्व जानकारी गराएर सन्यास लिएको भए केही फरक परिस्थिति बन्ने थियो, अचानक सन्यास लिनु क्रिकेट र देशका लागि राम्रो भएन”, उनले भने ।

अध्यक्ष चन्दका अनुसार पूर्व कप्तान खड्काले आज बिहान करीब साढे ७ बजेतिर इमेल गरेर संन्यास लिन लागेको जानकारी गराएका थिए । उनले आइसिसी विश्व क्रिकेट लिग टूका लागि नेपाली राष्ट्रिय टोलीको आज बन्द प्रशिक्षण शुरु गर्ने तयारी रहेको समेत बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू