बिहीबार, चैत १५, २०८०
14:13 | १९:५८

उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता

रासस जुलाइ २६, २०२१


काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । आयोगले जसपाका कार्यकारिणी समितिका सदस्यको सोमबार लिएको सनाखतअनुरुप यादव पक्षको बहुमत रहेकाले सोही पक्षलाई दलको आधिकारिकताको फैसला सुनाएको हो ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यमध्ये यादवको पक्षमा ३४ र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका थिए । एक सदस्य तटस्थ रहे ।

जसपाको विवाद निरुपणका लागि आयोगले आज पार्टीका सबै कार्यकारिणी सदस्यलाई आयोगमा बोलाएर सनाखत गराएको थियो । जसपाको आधिकारिकताबारे निर्णय लिन आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो ।

उक्त इजलासले यही साउन ३ देखि ६ गतेसम्म कानूनी बहस सकेर आज आयोगमा कागजातसहित उपस्थित हुन कार्यकारिणी समितिका सम्पूर्ण सदस्यलाई आग्रह गरेको थियो ।

आयोगको निर्णयपछि जसपाको अर्को पक्षलाई नयाँ दल दर्ताका लागि बाटो खुलेको छ । एक वर्षअघि पार्टी एकीकरण भएको जसपा सत्ता समीकरणको विषयलाई लिएर अध्यक्ष यादव र अर्का अध्यक्ष ठाकुर पक्षबीच विवाद देखिएको थियो ।

जसपाको सङ्घीय संसद्को दुवै सदनमा सांसदको संख्या ३५ छ । संघीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू