शुक्रबार, वैशाख ७, २०८१
08:48 | १३:३३

पाकिस्तानका पूर्व कप्तान नेपालमा क्रिकेट खेल्दै  

रासस जुलाइ २६, २०२१

काठमाडौँ–पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् ।

४६ वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (इपीएल) मा काठमाडौँ किंग्स–११ बाट खेल्ने तय भएको हो ।

काठमाडौँ किंग्स–११ ले आज एक कार्यक्रम गरी पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट प्रतियोगिता, ३९८ एकदिवसीय तथा ९९ टी–२० क्रिकेट प्रतियोगिता खेलेका थिए । सो क्रममा उनले टेष्टमा एक हजार ७१६, एकदिवसीयमा आठ हजार ६४ तथा टी–२० मा एक हजार ४१६ रन बनाएका छन् ।

त्यस्तै उनले टेष्ट प्रतियोगितामा ४८, एकदिवसीयमा ३९५ तथा टी–२० मा ९८ विकेट लिएका थिए ।

अलराउण्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि सन् २०१८ सम्म खेलेका थिए । अफ्रिदीले विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा हुने तय भएको चौंथो संस्करणको इपीएलमा ६ टोलीको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

गत वर्ष कोरोना भाइरसको महामारीका कारण इपीएल हुन सकेको थिएन् । इपीएलमा साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौँ किङ्स–११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू