शुक्रबार, वैशाख ७, २०८१
04:36 | ०९:२१

इंग्ल्याण्ड आजबाट लकडाउनमुक्त, दैनिक दुई लाख संक्रमण पुग्ने

नेपाली लिङ्क जुलाइ १९, २०२१

लन्डन । कोरोना संक्रमणको तेस्रो लहरको मार खेपिरहेका इङ्ग्ल्याण्डवासीहरु झन्डै १६ महिनापछि पूर्ण रुपमा आज सोमबारबाट लकडाउनमुक्त भएका छन् ।

तर, बेलायतमा कोरोना संक्रमणको त्रास भने झन् तीव्र बन्दै गएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आजको दिनलाई ‘फ्रिडम डे’ को रूपमा घोषणा गरेका थिए । तर,’फ्रिडम डे’ कै दिन प्रधानमन्त्री सेल्फ आइसोलेसनमा बसेका छन् ।

दुई दिनअघि स्वास्थ्य मन्त्री साजिद जावेदलाई कोरोना पुष्टि भएपछि उनी पनि आइसोलेसनमा नै छन् भने अर्थमन्त्री ऋषि सुनाक पनि आइसोलेसनमा नै छन् । स्वास्थ्यमन्त्रीसँगको सम्पर्कमा रहेका कारण उनीहरू पनि आइसोलेसनमा बसेका हुन् ।

सङ्क्रमण दरमा तीव्रता आए पनि सरकारले इङ्ग्ल्याण्डमा लकडाउन अन्त गरेको छ ।

अघिल्लो महिनामा नै पूर्ण रूपमा लकडाउन खुला गर्ने सरकारले रोडम्याप सार्वजनिक गरेको भए पनि इन्डियन (डेल्टा) भेरिएन्टको  संक्रमण दर तीव्र रूपमा बढेपछि चार हप्ता पछि धकेलिएको थियो । सरकारले चरणबद्ध रूपमा लकडाउन खुकुलो पार्दै चौथो तथा अन्तिम चरणमा लकडाउनसम्बन्धी सम्पूर्ण प्रतिबन्धहरू हटाएको छ ।

अनिवार्य मास्क लगाउनुपर्ने, एक मिटर प्लस दुरी राख्नुपर्ने, रेस्टुरेन्टमा क्यू आर कोड साइन गर्नुपर्ने जस्ता नियम अन्त भएको छ । संक्रमण दर उच्च भएकाले सार्वजनिक यातायातमा भने मास्क लगाउनुपर्ने नियम यथावत् नै छ ।

६ जना भन्दा बढी जमघट गर्न नपाइने, पब र रेस्टुरेन्टमा टेबल सर्भिस, थिएटर र सिनेमा हलमा सीमित दर्शक राख्न पाउने नियम  पनि आजैबाट हटेको छ । हालसम्म बन्द नाइट क्लब खुल्नेछन् भने घरैबाट काम गर्ने निर्देशिका पनि हटाइनुका साथै विवाह, अन्त्येष्टि र अन्य इभेन्टमा जति पनि सहभागी हुन पाउनेछन् ।

तर, लकडाउनमुक्त भए पनि बेलायतमा बढ्दो संक्रमणका कारण मानिसमा  झन् त्रास बढेको छ । पछिल्ला केही दिनयता दैनिक ५० हजारको हाराहारीमा सङ्क्रमण दर थपिएका छन् । शनिबार एकै दिन ५४ हजार भन्दा बढी संक्रमित भएका थिए । प्राध्यापक निल फर्गुसनले बेलायतमा दैनिक दुई लाखसम्म संक्रमण हुनसक्ने चेतावनी दिएका छन् ।

कोरोनाविरुद्ध खोपका कारण सङ्क्रमण दर बढे पनि मृत्युदरमा भने खासै वृद्धि भएको छैन । खोपको प्रभावका कारण मृत्युदर र अस्पताल भर्ना हुनेको सङ्ख्यामा कमी आएको सरकारको दाबी छ । त्यसैले बेलायतमा खोप वितरण कार्यलाई तीव्रता दिइएको छ । हाल बेलायतका जनसंख्याको ६८.३ प्रतिशत वयस्कहरूले खोपको दुवै डोज लगाइसकेका छन् भने ८७.९ प्रतिशतले पहिलो डोज लिएका छन् ।

बेलायतमा हालसम्म ५४ लाख ३३ हजार भन्दा बढी संक्रमण भएका छन् भने एक लाख २८ हजार ७०८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू