शुक्रबार, वैशाख ७, २०८१
12:10 | १६:५५

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइ

रासस जुलाइ १५, २०२१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरेकी छन् । 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उनले सफलताको शुभकामना दिएर नेपाली टोलीलाई बिदाइ गरिन् । 

सो अवसरमा उनले नेपाली टोलीको सेफ द मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरिन् ।

टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी र  चार प्रशिक्षकसहित २६ सदस्सीय टोलीले सहभागिता जनाउने छ । 

टोकियो ओलम्पिकमा पौडीमा गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार र जुडोमा सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछन् ।

सिंह दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन् । अन्य चार खेलाडी पहिलो पटक ओलम्पिकमा सहभागी हुँदैछन् । 

सिंहले पहिलो पटक सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् । नेपालमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकूद (साग) मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक प्राप्त गरेकी थिइन् । सिंहले महिला १०० सय मिटर फ्रि स्टाइल तथा शाहले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । 

यसैगरी परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउने छन् ।

टोकियो ओलम्पिकमा प्रशिक्षकमा पौडीका शङ्कर कार्की, सुटिङमा असिम यादव, जुडोमा सूर्यनारायण श्रेष्ठ र एथलेटिक्समा इन्द्रकुमारी मल्लको सहभागिता रहनेछ ।

ओलम्पिक उद्घाटन समारोहमा सिंह र  शाहले संयुक्त रुपमा नेपालको झण्डा बोक्ने छन् । टोकियो ओलम्पिक आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू