शुक्रबार, वैशाख ७, २०८१
06:03 | १०:४८

नेपालमा फेरि बढ्दै कोरोना संक्रमण

रासस जुलाइ १४, २०२१

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमणको दर फेरि बढ्न थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ । मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप दुई हजार ९०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता प्रा डा समीरकुमार अधिकारीले जानकारी दिए ।

मङ्गलबार दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि थियो । यसैगरी सोमबार दुई हजार ३७० मा र आइतबार एक हजार ८३१ मा सङ्क्रमण पुष्टि भएको थियो । आठ हजार १०८ जनाको पिसीआर विधिबाट परीक्षण गर्दा दुई हजार १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

चार हजार ९१६ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा ८९५ जनामा सङ्क्रमण पुष्टि भएको अधिकारीले जानकारी दिए । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट निधन हुनेको सङ्ख्या नौ हजार ४३० पुगेको छ । यस अवधिमा एक हजार ६०६ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६४७ जना रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा र दुई हजार ५४८ जना संस्थागत आइसोलेसनमा रहेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२५ जना सङ्क्रमित भेटिएका छन् । जसमध्ये काठमाडौँमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जना सङ्क्रमित भेटिएका हुन् । हालसम्म ३७ लाख ३० हजारले खोप लगाएका छन् । ११ लाखले दुवै चरणको खोप पूरा गरेको कार्यक्रममा जानकारी दिइएको छ ।

कोरोनाका कारण स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा ११३३ टोल फ्रि नं २४ सै घण्टा खुला रहने मन्त्रालय जनाएको छ । स्वास्थ्य सावधानी अपनाउँदै भौतिक दूरी कायम गर्न, सकेसम्म बाहिर ननिस्कन र निस्कनु परेमा अनिवार्यरुपमा मास्कसहित स्वास्थ्य सुरक्षाका विधि अपनाउन पनि मन्त्रालयले आह्वान गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू