शनिबार, वैशाख १५, २०८१
01:19 | ०६:०४

एमाले विवाद समाधानतिर, आइतबार एकताको सन्देश सुनाइने

रासस जुलाइ १०, २०२१

तस्बिर रासस

काठमाडौं । नेकपा (एमाले) भित्र देखिएका विवाद समाधानको निष्कर्षमा पुगेको छ । सिंहदरबारमा आज शनिबार विवाद समाधान गर्न गठित कार्यदलको बैठकले दलभित्र देखिएका समस्या समाधान निष्कर्षतिर पुगेको जनाएको हो । विवाद समस्या समाधान गर्दै दलले आइतबार पार्टीका आमकार्यकर्तालाई एकताको सन्देश दिँदै छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलका सदस्य गोकर्णराज विष्टले दलभित्रको समस्या सामाधन गर्ने विन्दुमा आफूहरु आइपुगेको जनाउँदै सहमतिलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए ।

“हामी भोलि (आइतबार) पार्टी एकताको सुखद् समाचार सुन्ने सफलता प्राप्त गर्ने छौँ । त्यो विन्दुसम्म पुरयाउनका लागि हामीले धेरै हदसम्म सहमति गरेका छौँ”, विष्टले भने, “अब सहमतिलाई औपचारिकता दिन मात्र बाँकी छ । भोलि एकताको सार्थक निष्कर्षमा पुग्दैछौं ।”

एमालेलाई एकतावद्ध बनाएर राष्ट्र जनता, कम्युनिष्ट आन्दोलनको रक्षा र नेपालीको चाहनालाई सम्बोधन गर्नका लागि भोलि एकताको घोषणा गरिने जानकारी उनले दिए ।

एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले दलमा देखिएको समस्या समाधानको अन्तिम विन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताए ।

बैठकमा एमाले नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी थिए । एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक जारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू