मंगलबार, वैशाख ११, २०८१
10:35 | १५:२०

चीनबाट आठ लाख डोज ‘भेरोसेल’ खोप नेपाल आइपुग्यो

रासस जुलाइ ९, २०२१

काठमाडौँ–कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत शुक्रबार बिहान ६ बजे नेपाल आइपुगेको हो ।

बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले सरकारले खरिद गरेको खोप आज बिहान आइपुगेको जानकारी दिए । उनले पहिलो चरणमा आज आठ लाख मात्रा अर्थात् १३ हजार किलो खोप आइपुगेको जानकारी दिए ।

सरकार र खोप कम्पनीबीच नन डिस्क्लोजर सम्झौताअनुसार कति परिमाणमा खोप नेपाल ल्याउने भन्ने कुरा खुलाइएको छैन् ।  

आगामी साउन ८ गतेसम्म तीन उडानमार्फत नियमितरुपमा खोप ल्याइने छ ।

यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते र साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ । पोखरेलले अहिले टेकुस्थित चिस्यान केन्द्रमा खोप भण्डारण गरिरहेको जानकारी दिए ।

मन्त्रालयले खोप लगाउने कार्यलाई विशेष प्राथमिकतामा राखेपछि यो खोप देशभरि नै पठाउने तयारी गरेको छ । 

खोप ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ । कूल जनसङ्ख्याको दुई करोड २० लाखलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

नेपालमा अहिलेसम्म २६ लाख ११ हजार ८०७ लाई पहिलो मात्रा र नौ लाख ३३ हजार ८६८ लाई दोस्रो मात्राको खोप लगाइसकिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू