बिहीबार, वैशाख १३, २०८१
12:13 | १६:५८

मनसुनपछि बाढी, पहिरो र डुबानबाट ५१ को मृत्यु

रासस जुलाइ ८, २०२१

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण गिरुबारी खोलामा आएको बाढीबाट नवलपरासी (बर्दघाट –सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा डुबानमा परेका घरहरु । तस्वीर- टेकराज पोखरेल, रासस

काठमाडौं । मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुने २६ पुरुष, १५ महिला, १० बालबालिका छन् ।

तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा तीन-तीन, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा दुई-दुई र ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक-एक जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै सात जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार दार्चुलामा तीन, पाल्पामा दुई तथा तनहुँ र दाङमा एक-एक जनाको मृत्यु भएको हो ।

बाढीपहिरो र डुबानमा परी मनसुन अवधिको जेठ ३० पछि आजसम्म ७१ जना घाइते भएका छन् । तीमध्ये ३६ पुरुष, १९ महिला, ११ जना बालक र पाँच जना बालिका छन् । यस्तै बाढीपहिरामा परी २९ बेपत्ता छन् । तीमध्ये १९ पुरुष, ६ महिला, तीन बालक र एक बालिका छन् ।

बेपत्ता हुनेमा सिन्धुपाल्चोकका २०, चितवनका तीन, पर्वत र तनहुँका दुई-दुई तथा बाजुरा र बाग्लुङमा एक-एक जना छन् । । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए ।

बाढीपहिरामा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । बाढीको कारण एक हजार ५१६ घर डुबानमा परेका र ५६४ घर, ९९ गोठ, ४२ पुल, ३ विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार १५८ घरका पाँच हजार ४२३ व्यक्ति विस्थापित भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू