सोमबार, मंसिर २०, २०७८
09:16 | १५:०१

ओली र नेपालबीच भएको वार्ता सकारात्मक

रासस जुलाइ ७, २०२१


काठमाडौं । नेकपा (एमाले) को आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आजको भेटवार्ता सकारात्मक भएको छ ।

नक्सालस्थित होटेल मेरियटमा भएको वार्तामा विवाद समाधान खोज्न गठित कार्यदलका केही सदस्यले हालसम्मको सहमतिको प्रयासबारे ब्रिफिङ गरेका थिए । त्यसपछि उनीहरुबीच अलग–अलग वार्ता भएको थियो । भेटवार्ताबाट बाहिरिएपछि अध्यक्ष ओली र नेता नेपालले पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिएनन् ।

वार्तामा सहभागी पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावलले पार्टीको एकतालाई प्रभावकारी परिणामा लाने सम्बन्धमा गम्भीररुपमा कुराकानी भएकाले शीर्ष तह र कार्यदलमा निरन्तर छलफल गरेर समाधान निकालिने बताए ।

वार्तास्थलमा रावलका साथै एमाले महासचिव इश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पनि सहभागी भएका थिए ।

शीर्ष नेताबीच गत जेठ २ गतेको सहमतिमा १० सदस्यीय कार्यदल गठन भएको थियो । सो कार्यदलको आज सिंहदरबारमा भएको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गर्ने समझदारी भएको थियो ।

पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न तनि दिन अघि कार्यदलको बैठक पुनः शुरु भएको हो । पार्टीका अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघठन गराई नेता नेपाललगायत नेतामाथिको कारबाही फुकुवा गराई २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो ।

एमालेको केन्द्रीय कमिटीको १३ औं बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरमा सम्लग्न पार्टीका २३ निवर्तमान सांसद्बाट गरिएको हस्ताक्षर फिर्ता गर्न आज साँझ ५ बजेसम्म समय दिएको सन्दर्भमा कार्यदल सक्रिय भएको हो ।

नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निस्क्रिय भएको थियो ।

कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु नेम्वाङ, पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल छन् भने नेता माधवकुमार नेपाल पक्षबाट डा रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू