शुक्रबार, वैशाख ७, २०८१
02:51 | ०७:३६

बङ्गलादेशमा ‘कडा लकडाउन’ एकसाता लम्बियो  

रासस-सिन्ह्वा जुलाइ ५, २०२१

ढाका । बङ्गलादेशमा लागू भइरहेको कडा लकडाउन फेरि एक हप्ताका लागि थप गरिएको छ । बङ्गलादेश सरकारले लकडाउन थप गर्ने निर्णय सोमबार गरेसँगै बङ्गलादेशमा यही जुलाई १४ तारिखसम्म लकडाउन लागू हुने भएको छ ।

कोरोनाभाइरस महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउन कडा बनाउँदै निरन्तरता दिनु परेको सरकारी अधिकारीहरूले जनाएका छन् । सरोकारवाला तथा विज्ञहरूसँग परामर्श गर्दा उनीहरूले अझै पनि लकडाउन थप्नुपर्ने सुझाव दिएकाले लकडाउनलाई निरन्तरता दिने निर्णय गरिएको सरकारले जनाएको छ ।

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न भन्दै बङ्गलादेशमा यही जुलाई १ देखि सात दिने कडा लकडाउन घोषणा गरिएको थियो । बङ्गलादेशमा गत आइतबार कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ ।

सरकारी अधिकारीका अनुसार आइतबार एकैदिनमा १५३ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या अत्यधिक बढेपछि कडा लकडाउन लगाउन बाध्य हुनुपरेको सरकारी अधिकारीहरूले बताउने गरेका छन् ।

बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म १५ हजार ६५ जनाको मृत्यु भएको छ । त्यसैगरी कोरोनाका कारण अहिलेसम्म नौ लाख ४४ हजार ९१७ जना सङ्क्रमित भएका छन् । तीमध्ये आठ हजार ६६१ जना पछिल्लो २४ घण्टामा थपिएका जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू