बिहीबार, वैशाख ६, २०८१
18:41 | २३:२६

बेइजिङ ओलम्पिक स्थगित गर्न चीन विरोधी चिनियाँ आप्रवासीको माग  

रासस-एएनआई जुन २३, २०२१

म्युनिख, जर्मनी, ९ असार–आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीहरुले आगामी बेइजिङ ओलम्पिक स्थगित गर्न माग गर्न लागेका हुन् ।

कोरोनाभाइरस महामारीको खतरा अझै पनि पूर्ण रुपमा अन्त्य भइ नसकेकाले आगामी बर्ष नै यति ठूलो खेलकुद प्रतियोगिता गर्नु उपयुक्त नहुने उनीहरुको भनाई छ ।

बेइजिङ ओलम्पिक स्थगित गर्नुपर्ने एक सूत्रीय अभियान स्वरुप चिनियाँहरुले आज विश्वका प्रमुख ६० भन्दा बढी सहरमा प्रदर्शन गरेका छन् । विभिन्न देशमा छरिएर रहेका चीन विरोधी ती चिनियाँ आप्रवासीहरुले आगामी बर्ष पनि खेलकुद प्रतियोगिता गराइ हाल्ने अवस्था नरहेको दावी गरेका छन् ।

उनीहरुले खेल स्थगित गर्नुपर्ने सन्देश विभिन्न माध्यमबाट चिनियाँ राष्ट्रपति र ओलम्पिक कमिटिका जिम्मेवार पदाधिकारीहरुसम्म पुर्याउन पनि आग्रह गरेका छन् ।

चिनियाँ प्रदर्शनकारीहरुले यसलाई कुनै राजनीतिक वा अन्य दृष्टीकोणले नहेर्न र स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिन पनि ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले ओलम्पिक स्थगित गराउन यस्ता दवावमुलक अभियानलाई निरन्तरता दिइरहने पनि जानकारी गराएका छन् ।

बेइजिङ ओलम्पिक सन् २०२२ को फेब्रुअरी ४ देखि फेब्रअरी २०सम्म बेइजिङ नेश्नल स्टेडियममा गर्ने तय भएको छ । सो प्रतियोगितामा ७ खेलका १०९ प्रतियोगिता हुने तय गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू