शुक्रबार, वैशाख १४, २०८१
21:49 | ०२:३४

‘भेरोसेल’को दोस्रो डोज दिन शुरु

रासस मे १६, २०२१

फाइल तस्विर

काठमाडौं । कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आइतबारदेखि काठमाडौँ जिल्लामा लगाउन शुरु गरिएको छ ।  

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले  सूचना प्रकाशित गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई आजदेखि जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाउन शुरु गरिएको जनाएको छ । 

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले दोस्रो मात्राका लागि आजदेखि जेठ ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेका छन्   । उनका अनुसार काठमाडौँ जिल्लाका ११ वटै नगरपालिकामा रहेका खोप केन्द्रबाट खोप लगाउन शुरु गरिएको हो । 

काठमाडौँ महानगरपालिकामा ३३ खोप केन्द्र, चन्द्रागिरि नगरपालिकामा तीन खोप केन्द्र, कीर्तिपुर, बूढानीलकण्ठ, गोकर्णेश्वर, टोखा र नागार्जुन नगरपालिकाका दुई-दुई खोप केन्द्र, कागेश्वरीमनहरा, तारकेश्वर शङ्खरापुर र दक्षिणकालीमा एक-एक खोप केन्द्र रहेका छन् । 

कार्यालयले गत चैत २५ देखि २८ गतेसम्म लगाएकाले आज, चैत २९ र ३० गते लगाएकाले यही जेठ ३ गते, चैत ३१ र वैशाख २ गते लगाएकाले जेठ ४ गते, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, वैशाख ५ र ६ गते लगाएकाले जेठ ६ गते दोस्रो मात्राको खोप लगाउन भनिएको छ । 

यस्तै, गत वैशाख ७ देखि १० गतेसम्म लगाएकाले जेठ ७ गते, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, वैशाख १३ गते लगाएकाले जेठ ९ गते, वैशाख १४ गते लगाएकाले जेठ १० गते र वैशाख १५ गते लगाएकाले जेठ ११ गते खोप लगाउन अनुरोध गरिएको छ ।  चीन सरकारबाट अनुदानमा ल्याइएको ‘भेरोसेल’ खोपको पहिलो मात्रा गत चैत २५ देखि वैशाख १५ गतेसम्म लगाइएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू