शनिबार, वैशाख ८, २०८१
02:27 | ०७:१२

बेलायतवासी साहित्यकार शर्माको उपन्यास ‘बिजूवा’ एकैसाथ तीन भाषामा

नेपाली लिङ्क मे १४, २०२१


लन्डन । बेलायतमा बस्दै आएका साहित्यकार वासु शर्माले आफ्नो नयाँ उपन्यास एकैपटक तीन भाषामा प्रकाशित गरेका छन् ।  

शर्माद्वारा लिखित उपन्यास ‘बिजूवा’ अंग्रेजी, हिन्दी र नेपाली भाषामा एकैपटक प्रकाशन भएको हो ।  

अमेजनबाट प्रकाशनमा आएको ‘बिजूवा’ तीन वटै भाषामा ‘किन्डल’ मा उपलब्ध छ भने उपन्यासको अंग्रेजी संस्करण ‘प्रिन्ट’ मा पनि पाउन सकिन्छ ।  

‘हामीले हाम्रा साहित्यिक कर्महरु आफ्ना नेपाली पाठकलाई त दिन्छौं नै, तर नेपाली भाषा नबुझ्ने गैरनेपाली पाठकसम्म पनि पुर्‍याउन सक्नुपर्छ भनेर मैले एकैसाथ तीन भाषामा लेख्ने सोच बनाएको हुँ’, लेखक शर्मा भन्छन्, ‘यसले गैरनेपाली पाठकमाझ पनि नेपाली साहित्य र स्रष्टालाई चिनाउनुका  साथै हाम्रै नेपाली सर्जकहरुलाई पनि उत्प्रेरणा जगाउनेछ भन्ने आशा मैले लिएको छु ।’

कुनै पनि लेखकले एउटा भाषामा लेखेका पुस्तक विभिन्न भाषामा उल्था गरेर प्रकाशन गर्ने ‘ट्रेन्ड’ नौलो होइन । ‘तर यसअघि कुनै पनि लेखकले एउटै पुस्तक एकैपटक तीन वटा भाषामा लेखेर प्रकाशित गरेको जानकारी शर्मालाई छैन । ‘मैले नै पहिलोपटक गरें भनेर म भन्दिन । अरु लेखकले पनि गर्नुभएको हुन सक्छ । तर मेरो जानकारीमा छैन’, शर्माले भने ।  

‘बिजूवा’ उपन्यास लन्डनमै हुर्किएको एक १५ वर्षे किशोरको कथा हो जो आफ्नो पैतृक थलो खोज्दै नेपालको गाउँ पुगेको हुन्छ । नेपालको प्राकृतिक सौन्दर्य, ऐतिहासिक र सांस्कृतिक सन्दर्भहरुदेखि परम्परा, चाडपर्व र लोकागाथाहरुसम्म उपन्यासमा समेटिएका छन् ।  

लन्डनको नटिङहिल कार्निभल, टावर ब्रीज, ग्रीनवीच लगायतका प्रसंगमार्फत् बेलायती परम्परा र जीवनशैलीबारे पनि पाठकलाई केही जानकारी पस्किइएको छ ।  

विगत ४ दशकदेखि नेपाली साहित्यमा सक्रिय शर्माको ‘बिजूवा’ पहिलो उपन्यास हो । कविता, गजल कथा, मुक्तक, नाटक, निबन्धसहितका बहुविधामा कलम चलाउने उनका ४ कवितासंग्रहका साथै गजल र मुक्तकका एकएक संग्रह यसअघि प्रकाशित छन् ।  

शर्मा संयोजक रहेको साहित्य चौतारी यूके आबद्ध बेलायतवासी नेपाली कविहरुको संयुक्त कवितासंग्रह ‘थेम्सका काव्यिक छालहरु’ पनि उनी आफैले सम्पादन गरेका हुन् ।  

‘बिजूवा’ उपन्यासको बिक्रीमर्फत् प्राप्त हुने रोयाल्टीको रकम परोपकारमा खर्चिने योजना लेखक शर्माको छ ।  

‘अहिले नेपालमा कोरोना महामारी उत्कर्षमा छ, अक्सिजनको अभावले हाहाकार अवस्था छ’, उनी भन्छन्, ‘पुस्तकको रोयल्टीमार्फत्  जे जति प्राप्त हुन्छ, त्यसलाई नेपालमा अक्सिजन सहयोगमा खर्च गर्ने मेरो योजना छ ।’

अमेजनमार्फत् ‘बिजूवा’ अर्डर गर्ने  लिंकहरु यसप्रकार छन्-

अंग्रेजी संस्करण:

किन्डल

प्रिन्ट 

हिन्दी संस्करण:

किन्डल

नेपाली संस्करण:

किन्डल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू