शुक्रबार, जेठ ४, २०८१
10:53 | १५:३८

थपिए आठ हजार ४१८ नयाँ संक्रमित, ५३ को निधन

रासस मे ८, २०२१

कोरोना परीक्षणका लागि संसद भवनमा स्वाब सङ्कलन गर्ने क्रममा नेपाल कम्प्युनिष्ठ पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ । तस्वीर-रोशन सापकोटा, रासस

काठमाडौं । पछिल्लो २४ घण्टामा कूल आठ हजार ४१८ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ३०४ नमूना परीक्षण गरिएकामा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५३ जनाको ज्यान गएको छ । यस्तै, तीन हजार ३७० जना निको भएका छन् । मन्त्रालयका अनुसार कूल तीन हजार ६३२ जनाको हालसम्म मृत्यु भएको छ । हालसम्म कूल २६ लाख १५ हजार ७२० जनाको परी क्षण गरिएको छ ।

कुल तीन लाख ८५ हजार ८९० जना कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये आइसोलेशनमा पुष्टि भएका केसको संख्या ८३ हजार ४९३ रहेको छ । मन्त्रालयका अनुसार हालसम्म दुई लाख ९८ हजार ७६५ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौँमा दुई हजार २७० जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ३८१ जना र ललितपुरमा ४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा सक्रिय संक्रमितको संख्या २६ हजार ४२६ छन् । निको भएकाको संख्या एक लाख १४ हजार ५८०, मृत्यु भएकाको सङ्ख्या ८२० छ ।

भक्तपुरमा तीन हजार ५४० जना सक्रिय सङ्क्रमित छन् भने निको भएकाको सङख्या नौ हजार ९१४ छन् भने १७२ जनाको ज्यान गएको छ ।

ललितपुरमा हाल सक्रिय संक्रमितको सङ्ख्या पाँच हजार ७१२ रहेका छन् भने निको भएकाको सङ्ख्या १७ हजार ८१३ छन् । यस्तै कोरोनाका कारण २३३ जनाको ज्यान गएको छ ।

२८ सांसदलाई कोरोना पुष्टि
सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड–१९ पिसिआर परीक्षणमा १९ सांसद र अन्य १४१ जनालाई पोजिटिभ पुष्टि भएको छ । प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको थियो ।

पिसिआर परीक्षणमा २०५ सांसद सहभागी भएकामा राष्ट्रियसभाका एकसहित १९ जनालाई कोरोना पोजिटिभ देखिएको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । यसअघि नौ सदस्यलाई कोरोना पोजिटिभ देखिएको थियो । उनीहरुसमेत हाल उपचारका क्रममा छन् । पछिल्लो नतिजासँगै कोरोनाबाट संक्रमित हुने सांसद २८ पुगेका छन् ।

सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला समाजसँग आबद्ध पत्रकार र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीसमेत एक हजार ३० को परीक्षण गरिएकामा १४१ जनालाई कोभिड–१९ पोजिटिभ नतिजा प्राप्त भएको जनाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् सचिवालयले संक्रमणलाई हेक्का गर्दै प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सिट व्यवस्थापन गरेको छ ।

सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिले छलफलपछि तय गर्ने कार्यसूचीका आधारमा अधिवेशन कसरी अघि बढाउने भन्ने निक्र्याेल गरिने छ ।

कोरोना पोजिटिभ भएका सांसदलाई विश्वासको मतका सम्बन्धमा बैठकमा कसरी सहभागी गराउने भन्ने विषय अहिले चुनौतीका रुपमा छ । पीपीइ लगाएका स्वास्थ्यकर्मीका सहयोगमा कोरोना देखिएका सांसदलाई बेग्लै कक्षमा राखेर मतदानमा सहभागी गराउन सकिने तर्कसमेत गरिएको छ ।

कोरोना संक्रमणले दैनिक नयाँ अभिलेख कायम गरिरहेको तथा प्रमुख राजनीतिक दलभित्रै पनि आन्तरिक विवादले उत्कर्ष रुप लिइरहेका बेला हुन लागेको प्रतिनिधिसभाको यो अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू