मंगलबार, चैत ६, २०८०
08:19 | १४:०४

त्रिकोणात्मक टी–ट्वान्टीमा नेपाल नेदरल्यान्ड्ससँग पराजित   

रासस अप्रिल २०, २०२१

काठमाडौँ– घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको हो ।

नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सात विकेट गुमाएर पूरा गरयो । नेदरल्यान्ड्सको जितका लागि बास डी लिड र बेन कुपर नायक बने । बास डी लिडले ४२ बलमा सात चौका र पाँच छक्कासहित ८१ रनका साथ अविजित रहँदै टोलीलाई सानदार जित दिलाए । त्यस्तै बेन कुपरले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३५ बलमा १० चौका प्रहार गरे ।

नेदरल्यान्ड्सका कप्तान पिटर सिलारले ३१ रनको योगदान दिए । उनले १५ बलमा एक चौका र तीन छक्का प्रहार गरे । त्यस्तै म्याक्स ओ डाउडले नौ रन जोड्दै आउट भए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए भने करण कसी, अभिनास बोहरा र कुशल मल्लले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै २०६ रन जोडेको थियो । नेपालका लागि कुशल भूर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । दुवैले ७८ रनको साझेदारी गरे । ओपनर कुशलले ४६ बलमा आठ चौका र एक छक्काको मद्दतमा ६२ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रले ६० रनको योगदान दिए । उनले ३० बलमा तीन चौका र पाँच छक्का प्रहार गरे ।

त्यसैगरी सोमपाल कामीले २१ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८ तथा विनोद भण्डारीले ७ रन जोडे । नेदरल्यान्ड्सका लागि पिटर सिलार र विविअन किङ्गमाले समान दुई-दुई विकेट लिए ।

त्यस्तै बास दे लीड, आर्यन दत्तले एक-एक विकेट लिए । जितसँगै नेदरल्यान्ड्सले नेपालसँग पहिलो खेलमा ब्यहोरेको हारको बदलासमेत लिएको छ । पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू