शुक्रबार, चैत १६, २०८०
15:53 | २१:३८

इंग्ल्याण्डमा आजदेखि लकडाउन थप खुकुलो, खुले कयौं व्यवसाय

नेपाली लिङ्क अप्रिल १२, २०२१

लन्डन । इंग्ल्याण्डमा आज १२ अप्रिलदेखि लकडाउन थप खुकुलो भएको छ । सरकारको पूर्व निर्धारित चरणवद्ध 
रोडम्याप बमोजिम आजबाट कयौं व्यवसायहरु खुलेका छन् ।

पब गार्डेन, रेष्टुरेन्ट, अत्यावश्यक बाहेकका रिटेल पसल, हेयर ड्रेसर, ब्यूटी नेल सलुन, जिम, स्पा, स्वीमिङ पुल आदि व्यवसाय खुलेका हुन् । पब, रेष्टुरेन्टले बढीमा ६ जनाको समूहलाई आउटडोर (बाहिर) टेबल सर्भिस्मा खाना, पेय पदार्थ र मदिरा सर्भ गर्न सक्नेछन् ।

बीबीसीका अनुसार, चिडियाखाना, थिम पार्क, पुस्तकालय, कम्युनिटी सेन्टर पनि खुलेका छन् । एउटै घरका परिवार इंग्ल्याण्डमा होलिडे जान सक्नेछन् तर उनीहरु आफैंले गास, बास प्रवन्ध गर्नुपर्नेछ । अत्यावश्यक बाहेकको इंग्ल्याण्ड र वेल्स् यात्रा गर्न पनि अब छुट दिइएको छ ।

बिहे समारोहमा १५ र अन्त्येष्टीमा ३० जनासम्म भेला हुन सकिनेछ । ड्राइभिङ सिक्न पाइने छ तर 
ड्राइभिङ टेष्ट भने २२ अप्रिलबाटमात्र दिन पाइनेछ ।  केयर होम भिजिटर संख्या बढाएर प्रतिघर दुई जनालाई भेटघाट गर्न छुट दिइएको छ ।

अभिभावक र बालबालिका (५ वर्ष मुनीका बाहेक) १५ जनासम्मले इन्डोर गतिविधि गर्न पाउनेछन् ।

विदेश यात्रा गर्न भने अर्को चरण (कम्तीमा १७ मे) अगाडि गैर कानूनी हुनेछ । संग्रहालय, सिनेमा घर र बालबालिका खेल्ने ठाउं पनि बन्द नै रहनेछन् । सरकारले आउंदो जुन २१ देखि सबै लकडाउन अन्त्य गर्ने घोषणा गरिसकेको छ ।

इंग्ल्याण्डमा कोरोना भाइरस संक्रमण तीव्र भएपछि सरकारले गत ५ जनवरीदेखि तेश्रो राष्ट्रिय लकडाउन घोषणा गरेको थियो । दोश्रो लकडाउन नोभेम्बर ५ देखि शुरु भएर डिसेम्बर २ मा अन्त्य भएको थियो । बेलायतमा पहिलो लकडाउन भने गत वर्ष मार्च २३, २०२० मा घोषणा भएको थियो ।

बेलायतमा अहिले कोरोना संक्रमण र मृत्युदर ह्वात्तै घटेको छ । कोरोनाबाट आइतबार ७ जनाको मात्र निधन भएको थियो ।

यहां खोप वितरण पनि तीव्र बनाइएको छ । तीन करोड २१ लाख २१ हजार ३५३ जनाले खोपको पहिलो र ७४ लाख ६६ हजार ५४० जनाले दोस्रो डोज लिइसकेका छन् ।

बेलायतमा कोरोना विरुद्ध फाइजर–बायोएनटेक, अक्सफोर्ड–एस्ट्राजेनेका र मोडर्ना खोप प्रयोगमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू