शुक्रबार, वैशाख १०, २०७८
21:41 | ०२:२६

प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडक शिलान्यास

रासस अप्रिल ३, २०२१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उनले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गरेका हुन् । रु ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

एक सय ६५ निर्वाचन क्षेत्रमा एक÷एक वटा सडकका दरले शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलान्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गरे ।

ओलीले आफू प्रधानमन्त्री भएदेखि अहिलेसम्म कालोपत्र सडक निर्माण र स्तरोन्नति सडक तीन हजार ५१२ किलोमिटर भएको जानकारी दिए । उनका अनुसार ६२८ वटा सडक पुल (झोलुङ्गे) पुलबाहेक निर्माण भएका छन् ।

कार्यक्रममा यातायात तथा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङले तीन वर्षमा तीन हजार ५१२ किलोमिटर छ लेनका सडक निर्माण भइरहेको जानकारी दिए । त्यस्तै तीन हजार ३०० किलोमिटर ग्राभेल सडक, एक हजार ६८६ किलोमिटर नयाँ ट्र्याकका सडक पनि निर्माणका क्रममा रहेको उनले जनाए ।

उनले पूर्वपश्चिम राजमार्गलाई चारदेखि छ लेनसम्म विस्तार गर्न थालिएको बताए । उनका अनुसार प्रतिदिन ६.५ किलोमिटर बाटो निर्माण सङ्घीय सरकारले गरिरहेको छ । समारोहमा सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यको समेत उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू