शनिबार, वैशाख १५, २०८१
20:38 | ०१:२३

नेपालमा मौसम तीन दिन स्थिर रहने, तुवाँलो कायमै

रासस मार्च ३०, २०२१

काठमाडौं । नेपालमा आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहेको छ । यही कारण प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिन गएको जनाइएको छ ।

देशका अधिकांश जिल्लाका धेरै ठाँउमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कण वायुमण्ड मै सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागले जनाएको छ ।

खासगरी राजधानी काठमाडौँलगायतका शहरहरु जहाँ पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक भएको छ, त्यस्ता ठाँउमा तुवाँलो अत्याधिक भएकाले वायुमण्डलको पारदर्शिता उल्लेखनीय रुपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको बताइएको छ ।

आगामी तीन दिन मौसम सुधार हुने अवस्था नदेखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । उनका अनुसार मंगलबारबाट पारदर्शिता केही बढ्ने सम्भावना छ ।

‘सोमबार देशको केही स्थानमा फाटफुट वर्षाका साथै हल्का हावा चलेको कारण पारदर्शिता बढेको बताइएको छ । मौसम पूर्णरुपमा सुधार हुने अवस्था भने तत्काल देखिएको छैन्’, मौसमविद् नगरकोटीले भने ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुसमेतको आंशिक प्रभाव रहेको छ । दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागकै एक–दुई स्थानमा मेघगर्जन, चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २५ दशमलव दुई डिग्री सेल्सियस छ ।

त्यस्तै, सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव दुई डिग्री सेल्सियस छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू