बिहीबार, वैशाख २, २०७८
16:08 | २०:५३

बेलायती महिला झन् बढी शोषित

विजय हितान मार्च २८, २०२१

बेलायत बसाई सर्नुभन्दा अगाडि मलाई लाग्थ्यो यहांका स्त्री पुरुषमा समान अधिकार छ । महिलाहरूले पीडा सहनु परेको छैन् । यति विकसित यो देश, सम्झिन्थें यहां लिंगभेद छैन्, छात्र छात्राहरू एउटै स्कुल जान्छन् । सम्झेको थिएं यो रानीको देश, अनी आइरन लेडीले एक दशक हांकेको देश । यहांको मन्त्रिमन्डलमा आधा पुरुष आधा महिला मन्त्रीहरू होलान् भनेर ।

कुरो त्यसो रहेनछ । पछि थाहा भयो मेरो सोचाई गलत रहेछ । बिस्तारै यहांको जिवन भोगाइपछि अनुभव हुनथाल्यो । यहां पनि नेपालमा जस्तै उत्तिकै लिंगभेद रहेछ । नारी दिवस पारेर गरिने कार्यक्रम र बेलाबेलामा सुनिने सञ्चारमाध्यम स्रोतबाट ज्ञान भयो– महिला प्रतिको असमानता टड्कारो रुपमा यहां पनि विद्यमान रहेछ । क्रमशः यो देश प्रतिको मेरो सकारात्मक धारणामा परिवर्तन आउन थाल्यो ।

कार्यालयमा महिलाका असमान पारिश्रमिक र दुरव्यवहार, समाज र घरपरिवारमा हुने हत्या, हिंसा र बलात्कार, फुटबल खेलमा हुने सेक्सिज्म ईत्यादिले मलाई कहिलेकाहीं खुबै पिरोल्छ । यो देशमा कुकुर त्यति मर्दैनन् होला बरु, कयौं महिला बलात्कृत हुंदा रहेछन् गल्लीमा । त्यत्तिकै महिलाहरू कार्यालय, सार्वजानिक स्थल र घरमै यौन दुरव्यवहारबाट पीडित हुंदा रहेछन् । एउटा संगठनको पुरुष प्रवन्ध निर्देशकको तलब सालको एक लाख हुंदा त्यस्तै अर्को संगठनको महिला प्रबन्ध निर्देशकको तलब आधा लाख हुंदोरहेछ ।

सन् २०१५ मा डेभिड क्यामरन प्रधानमन्त्री हुंदा उनको मन्त्रिपरिषदमा मुट्ठीभर महिला मन्त्री भएकाले उनले खुबै आलोचना खेप्नु परेको थियो । चर्चका तल्ला स्तरमा थुप्रै महिला भएतापनि ‘आर्चिविशोप‘ भनिने ठूलो पदाधिकारी महिला नहुंदा रहेछन्, पुरुष मात्रै रहन पाउने नियम रहेछ । बल्ल हिजोआज यो पदमा एक महिला आएकी छिन् ।

नेपाल छंदा बेलायती महिला र पुरुषमा केही भिन्नता छैन् भनेको सुन्दा त महिला पुरुष एउटै शौचालय जान्छन् भनि कल्पना गर्थें । शौचालय त के विद्यालय पनि किशोर किशोरीका लागि फरक फरक हुंदारहेछन् । केटालाई छुट्टै केटीकालागि छुट्टै ग्रामर स्कुलहरू देख्दा पञ्चायत पालाका कन्या स्कुल र काठमान्डुको पीके क्याम्पसको याद आयो । मेरो छोरालाई केटाहरूमात्रै पढाई हुने ग्रामर स्कुलमा भर्ना गराउनुपर्दा पिर लाग्याथ्यो । कतै समलिंगी बन्छ कि भनेर ।

सभ्य र शिक्षित बेलायती महिलाको ब्यवहार पनि हाम्रा नेपाली महिलाको जस्तो नहोला भन्ठान्दथें । नेपाली महिला अरुको कुरा काट्छन्, सासु–ससुरासंग मिलेर बस्न सक्दैनन्, लोग्नेको आर्जनमा बढी आश्रित हुन्छन् भन्ने गरिन्छ । बेलायतका महिलामा पनि दुरुस्तै ती गुणहरू देख्न पाउंदा महिला
संसारभर सबै ठाउंका एउटै हुंदा रहेछन् भन्ने लाग्यो । आफ्ना भाइबहिनी र आमाबालाई असाध्यै माया गर्ने, लोग्नेपट्टिकालाई भने पटक्कै मन नपराउने बानी हुंदो रहेछ । चाखलाग्दो विषय त यो देशमा यति बिघ्न पारपाचुके किन हुन्छ भनेको त एउटा प्रमुख कारण लोग्नेको सम्पत्ति पाउन रहेछ ।

अझ आश्चर्य लाग्दो कुरा त के चाल पाएं भने, साधारण मानिसले पढ्ने दैनिक अखबार ‘सन’ को तेस्रो पानामा त अर्धनग्न युवतीको फोटो छापिंदो रहेछ जसलाई ‘पेज थ्री गर्ल’ भनेर जानिन्छ । पत्रिकाको प्रवन्ध निर्देशक महिला नरहेर हो या अरु कारणले, यस्तो छाडा प्रचलनलाई किन यहांका महिलाले विरोध नगरेका ? ब्यापारिक फाइदाले होला त्यसो गरेको । बल्ल हिजोआज सुन्नमा आएको छ लामो समयसम्मका आन्दोलनपछि यस पत्रिकाले ‘पेज थ्री गर्ल’ हटाएको छ ।

नेपाली र बेलायती महिलामा अलिकति एउटा भिन्नता के पाइन्छ भने टेलिभिजनमा अन्तर्वार्ता दिनुपरयो भने महिला अघि सर्दा रहेछन् । परिवार कतै घुम्न जांदा लोग्नेले भन्दा स्वास्नीले ड्राइभिङ बढी गरेको पाइन्छ ।

सभ्य समाज अनि मानव अधिकार र स्वातन्त्रताको जननी भनेर परिचित देश बेलायत । यहां यस्तो अमानवीय ब्यवहार देखिंदा मैले सधैं प्रश्न गर्ने गर्छु– आखिर महिला र पुरूषमा किन यस्तो भिन्नता ? कतै महिला र पुरुषको आनुवंशिक, शारिरिक, ब्यवहारिक इत्यादि भिन्नताले गर्दा समान अधिकारबाट वञ्चित हुनु परेको त होइन ?

मुस्लिम राष्ट्रहरुमा महिलाहरू अमानवीय ब्यवहारको शिकार भएको देख्दा म भित्र अझै के प्रश्न तेर्सिन्छ भने के वास्तवमा महिला मानवको श्रेणीमा पर्दछन् ? कि कतै पुरुष यस पृथ्वीमा जलचर जस्तै अगाडि आए र महिला स्थलचर जनावर जस्तै पछि आए । फलस्वरुप विकासको क्रममा पुरुष मानव भइसकेका र महिला अझै पनि मानव हुन बांकी अवस्थामा छन् र ? त्यसो हुनु नपर्ने, किनकि बाइबलले केटा र केटी दुवैलाई भगवानले यस धर्तीमा एउटै समयमा पठाए भन्दछ । दुबै जातको अस्तित्व एकै समयमा सुरु भयो भने एक मानव र अर्को अमानव त हुन नपर्ने ? त्यसो हो भने किन महिलालाई अमानवीय ब्यवहार त ? हामी मानवमा मात्रै के कमी के बढी भन्ने महशुस गर्छौं, कुन समानता हो कुन असमानता हो 
बुझ्दछौं । मानवका यी दुई जातिमै यतिका असमानता पाउंदा कतै पुरुष मात्रै मानव र महिला मानव होइनन् भन्ने शंका जाग्छ ।

अब अर्को प्रश्न के तेर्सिनछ भने– कतै महिलाको आफ्नै ब्यवहारले गर्दा अमानवीय ब्यवहार भोग्नु परेको त होइन ? कतै उनको शारीरिक रुप र ढांचाले त्यसो भएको त होइन ? हामीले भन्ने गर्छौं नि कसैले कसैलाई कुटपिट गरयो, असमान ब्यवहार गरियो भने त्यो मानवीय ब्यवहार भएन भनेर । यस्तो अवस्थामा कि त पीडा दिने कि त पीडा लिने मध्य एक कतै मानव होइनन् कि भन्ने शंका उब्जिन्छ । यदि दुबै मानव हुन्थे भने यो खाडल न तेर्सिनु पर्ने हो ।

महिला पुरूषभन्दा शारीरिक रुपमा धेरै भिन्न हुन्छिन् । सानी हुन्छिन्, कपाल लामो पाल्छिन्, शरीरमा रौं कम हुन्छन्, प्रजनन अंग भिन्न हुन्छन्, एउटै भाषा बोले पनि बोलीको स्वर भिन्न हुन्छ, पुरुष सरह बलियो हुन्नन् । जसले गर्दा पुरुषले शारीरिक 
प्रतिष्पर्धामा सधैं उछिन्छन् । पुरुषहरू छिटो दौडन्छन्, गरुंगो भारी बोक्छन्, महिला भन्दा माथि उफ्रन र लामो छलाङ मार्न सक्छन् । महिलाहरू ढिला हुन्छन् । झनै नौ महिना बच्चालाई पेटमा बोक्दा उनीहरुको शरीर भारी हुन्छ ।

त्यसैगरि शरीर भित्रको अनुवंश पनि त फरक हुन्छन् । यसैगरी उनको ब्यवहार र पहिरनमा पनि फरक हुन्छ । उनी रङीबिरङी सारी, कुर्ता लगाउंछिन् । छोटो र पारदर्शी चोली र स्कर्ट पहिरन्छिन् । हातमा चुरा, आंखामा गाजल, ओंठमा लाली, गालामा पाउडर, घांटीमा तिलहरी, नङमा पालिस इत्यादि पोतेर आकर्षक बनाउंछिन् । यसो गर्नु एउटा कला हो र त्यसको सम्मान गर्नु मानवीय गुण हो । तर कतै महिलाको यो श्रृंगारिक कला अधिकार हनन र अमानवीय ब्यवहारलाई प्रोत्साहन गर्ने तत्व त बनेको छैन् ? शारीरिक बनोट त परिवर्तन गर्न सकिन्न क्यारे, तर यी लगाउने, हिंडने ब्यवहार परिवर्तन गरि पुरुष जस्तै बनाउन सकियो भने कतै छिट्टै समान अधिकारको हकदार हुन सक्छिन् कि उनी भन्ने मेरो धारणा छ ।

होइन भने, अग्रगामी परिवर्तनका लागि महिलाले आतंककारी रुप लिनु पर्छ कि भन्छु म त । १११ वर्ष भइसकेछ विश्वका महिलाहरू आफ्नो हक र अधिकारकालागि एकजुट भएका । तर, यसको प्रगति भने कछुवाको चालमा छ । अब यसरी यथास्थितिमा बसे पूर्ण अधिकार पाउन अर्को १०० वर्ष लाग्ने देख्छु । सभा, दिवस र भाषणमै सिमित हुने हो भने सोभियत संघ र नेटो देशहरूको शितयुद्ध छेकेको बर्लिन पर्खाल भत्किन समय लागेजस्तै यो असमानताको पर्खाल भत्किन समय लाग्नेछ । शीघ्र अधिकार खोज्ने हो भने अब आन्दोलनको झिल्कोलाई युद्धको रांको बनाउनु पर्छ कि ? नेपालमा माओवादीले हतियार न उठाएको भए निरंकुश राजतन्त्र आज ढल्ने थिएन र राजनैतिक समावेशी र संघीयता आउने थिएन । आइसिसको युद्ध जस्तै बन्दुक र तोप उठाएर तर्साउन सके मात्रै त्यो समान अधिकारको फल पुरुष र महिला संगै बसेर उपभोग गर्ने थिए कि ।

त्यसैले के भन्न मन लाग्छ भने– छोड महिला हो लिपस्टिक पाउडर लागाएर हिंड्न र घरमा छोराछोरीलाई काख च्यापेर बस्न । त्याग महिला हो भान्सामा डाडु पन्यु समातेर बस्न । ती कोखा र हातमा अब बन्दुक समाउ । छोड डोकोमा पानीको गाग्रो बोक्न । अब सिक ती डोकामा बारुद बोक्न । बच्चा जन्माए पछि लामो सुत्केरी बिदा र सुत्केरी भत्ता खाएर आफ्नै खोपीमा नबसेर लोग्नेलाई बच्चा हेर्ने जिम्मा दिएर तिमी काममा फर्क । वीर र साहसी बन पुरुष जस्तै । अनि हेर त किन समान अधिकार पाउन सक्दैनौं ।

प्राणी मध्येमा हामी मानव हौं, त्यसैले भनिन्छ हामी सभ्य छौं । तर, अझै यसलाई केलाउने हो भने महिला र पुरूषमा को मानव हो भन्ने प्रश्न तेर्सिन्छ । यी भिन्नताले गर्दा हामी दुबै मानव हुन सक्दैनौं । एक पशु एक मानव हुनपर्छ भन्ने मेरो धारणा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू