मंगलबार, वैशाख ११, २०८१
07:06 | ११:५१

चितवन प्रिमियर लिग मङ्सिरमा

रासस मार्च २६, २०२१

काठमाडौं । दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगिता आउँदो मङ्सिर महीनामा हुने भएको छ । 

सिपिएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मङ्सिर (डिसेम्बर) महिनामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो ।

प्रतियोगिताको पहिलो संस्करण गत माघ महिनामा भएको थियो । यसपटक विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण केही ढिलाइ हुन पुगेको हो । 

सिपिएलका संस्थापक तथा प्रबन्ध निर्देशक राजु चौधरीका अनुसार यसपटक प्रतियोगिता भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

पहिलो संस्करण नारायणगढस्थित क्याम्पाचौरमा सञ्चालन भएको थियो । दोस्रो संस्करण अझै व्यवस्थित र भव्य बनाउने प्रयास भइरहेको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिए । 

पहिलो संस्करणमा प्रत्येक टिममा तीन राष्ट्रिय खेलाडी अनिवार्य गरिएको थियो । आउने संस्करणमा राष्ट्रिय खेलाडीको संख्या बढाउने योजनामा आयोजक छ ।

चितवन क्रिकेट संघको सहकार्यमा नारायणी एड्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा हुने यस प्रतियोगितामा पाँचवटा टोली छन् । यस प्रतियोगिताको पहिलो संस्करणको उपाधि राप्ती रयापिड्सले उचालेको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू