शनिबार, वैशाख ८, २०८१
21:21 | ०२:०६

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण शुरु

रासस मार्च २५, २०२१

चितवन । चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ ।

एक वर्षदेखि काठमाडौँमा उपचार गराइरहेकी भरतपुर महानगरपालिका–१० स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी लामालाई उनकी छोरी उषा तामाङले कलेजो दान गरेकी थिइन् ।

राजधानी बाहिर कलेजो प्रत्यारोपण सेवा सञ्चालनको अनुमति लिई पहिलोपटक सफल प्रत्यारोपण गरिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए   

विशेषज्ञ चिकित्सक सर्जन डा सञ्जय यादव, डा एकानन्द सिंह, डा प्रवीण जोशी, डा जयन्तकुमार साह, डा अभिषेक भट्टराई,  एनेस्थेसियोलोजिष्ट डा किरण अधिकारी, डा सुरेश गौतम, डा. नवीन यादवलगायतको समूहले सफल प्रत्यारोपण गरेको बताइएको छ । 

विगत केही वर्षदेखि कलेजो प्रत्यारोपणका लागि आन्तरिक तयारी गरिरहेको कलेजले आवश्यक सबै उपकरण, दक्ष प्राविधिक जनशक्ति र  कलेजोसम्बन्धी विशेषज्ञका प्रयासबाट कलेजो प्रत्यारोपण गरेको उनको भनाइ छ । कलेजो प्रत्यारोपणका लागि चार सर्जन, तीन क्रिटिकल केयर, तीन एनेस्थेसियोलोजिष्ट र १० विशेषसहितको टोली अस्पतालमा छ । 

नेपालमा नै उपचार र शिक्षणमा अग्रणी मानिने कलेजका प्रबन्ध निर्देशक एवं अध्यक्ष प्रा डा हरिशचन्द्र न्यौपानेले सफल रुपमा कलेजो प्रत्यारोपण गर्नु कलेजको उपलब्धिका रुपमा लिइएको बताए । भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र र काठमाडौँको शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुँदै आएको छ । यहाँ उपचारका लागि रु २५ लाख लाग्ने उनले जानकारी दिए । 

अहिले अस्पतालमा कलेजोको उपचारका लागि दैनिक १० देखि २० जना आउने गरेको र तीमध्ये २० प्रतिशत कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अस्पतालले जनाएको छ । अस्पतालले विसं २०७६ वैशाखमा कलेजो प्रत्यारोपणका लागि अनुमति लिएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू