शुक्रबार, वैशाख १४, २०८१
21:19 | ०२:०४

तान्जानियाका राष्ट्रपतिको निधन, कोरोना आशंका

रासस–एएफपी मार्च १८, २०२१

तान्जानिया । तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् सार्वजनिक गरेका हुन् ।

मगुफुली करिब तीन साता यतादेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् । यसैकारण पनि उनको स्वास्थ्यको विषयलाई लिएर देशभित्र विभिन्न हल्ला गरिएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण भएको पनि बताइएको थियो ।

तर पनि यस विषयमा सरकारले आधिकारिक रुपमा कुनै सूचना दिएको छैन । उता विपक्षी नेताहरूले भने उनलाई कोरोना भाइरसको संक्रमण भएको दाबी गरेका छन् । तर यो समाचारको पुष्टि हुन सकेको छैन ।

यसै विषयको जवाफमा गतसाता तान्जानियाका प्रधानमन्त्रीले मगुफुली स्वस्थ्य रहेको जानकारी सञ्चारमाध्यममार्फत् दिएका थिए ।यहाँको विपक्षी दलका नेता टुन्डु लिस्सुले भने मगुफुलीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताएका छन् ।

मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए । सन् २०१५ को अक्टोबरमा आफ्नो ५६औँ जन्मदिनकै अवरमा उनी देशको राष्ट्रपति घोषित भएका थिए । गत वर्षको चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपतिको भूमिका निर्वाह गर्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू