बुधबार, वैशाख १२, २०८१
07:05 | ११:५०

एनआरएनए यूके काउन्सिल बैठक ‘मिनी साधारणसभा’ कै रुपमा सञ्चालन हुने

नेपाली लिङ्क मार्च १३, २०२१

लन्डन । एनआरएनए यूकेले काउन्सिल बैठक ‘मिनी साधारणसभा’ कै रुपमा सञ्चालन हुने भएकाले व्यापक सहभागिताका लागि अपील गरेको छ ।

भोलि आइतबार (१४ मार्च) मा हुने बैठकमा संस्थाको विगतलाई समीक्षा गर्दै भावी कार्यदिशाका सम्बन्धमा नीतिगत छलफल चलाइने संघले बताएको छ ।

बैठकमा गोर्खा मुद्धा, नागरिकता निरन्तरता, बेलायतको जनगणना, स्मार्ट एनआरएनए लगायत एजेन्डामा छलफल र सुझाव संकलन गरिनेछ ।

स्थानीय नेपाली संघसंस्थासंग समन्वय गरि समान उद्देश्यका मुद्धामा सहकार्य गर्न संघले काउन्सिल बैठक आयोजना गरेको एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले जनाइन् । ‘एनआरएनए यूकेबाट के कस्ता अपेक्षा छन्, हाम्रा कमी कमजोरी के हुन् त्यो औंल्याइदिन र आफ्ना रचनात्मक सुझाव सल्लाह दिन हामी सम्पूर्ण नेपाली संघसंस्थासंग आग्रह गर्छौं’, गुरुङले भनिन् ।

बैठकमा ‘स्मार्ट एनआरएनए’ को अवधारणामा एनआरएनए आइसीसीका पदाधिकारीले ‘प्रिजेन्टेसन’ गर्ने कार्यक्रम छ ।

बैठकमा सहभागिताको लागि अहिलेसम्म ६० भन्दा बढी संघसंस्थाले ‘कन्फर्म’ गरिसकेका र बेलायतस्थित सबै नेपाली संघसंस्थालाई इमेल र सार्वजनिक सूचनाहरुमार्फत् आमन्त्रण गरिसकिएको कार्यक्रम संयोजक एवं संघकी उपाध्यक्ष रोजिनाप्रधान राईले बताइन् ।

एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले कार्यक्रममा सहभागिता जनाएर सफल बनाइदिन अपिल गरे । उनले औपचारिक निमन्त्रणा कारणवश प्राप्त नभएपनि यसैलाई निम्तो स्वीकारिदिन अनुरोध गर्दै बैठकले उल्लेखित महत्वपूर्ण एजेण्डामा छलफल गरि घोषणापत्र पारित गर्ने जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू