शुक्रबार, चैत १६, २०८०
18:48 | ००:३३

बेलायतकै ठूलो नेपाली इभेन्ट ‘गोर्खा कप’ जुलाईमा हुने

नेपाली लिङ्क मार्च ८, २०२१

फाइल तस्विर

लन्डन । तमुधिं यूकेले वर्षेनी गर्दै आएको बेलायतकै सबैभन्दा ठूलो नेपाली इभेन्ट ‘गोर्खा कप’ आउँदो जुलाई २४ तारिख क्वीन्स एभ्न्यू, अल्डरसट ग्यारिजन सपोर्टस् सेन्टरमा हुने भएको छ । गोर्खा कप गत वर्ष मे महिनामा  हुने तय गरिएपनि कोरोना महामारीका कारण रद्द गरिएको थियो ।

इंग्ल्याण्डमा लकडाउन कायमै रहेपनि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले चरणबद्ध रुपमा लकडाउन खोल्दै जाने घोषणा गरेका कारण गोर्खा कपको मिति निर्धारण गरिएको आयोजक तमुधिं यूकेले बताएको छ ।

जुन २१ देखि अहिले बेलायतमा लागू सबै प्रतिवन्ध हटाइने प्रधानमन्त्रीको आश्वासन अनुरुप आफूहरुले गोर्खा कपको मिति तय गरेको तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङले नेपाली लिंकलाई बताए ।

‘पछिल्लो समय बेलायतमा संक्रमण र मृत्युदरमा सुधार हुँदै गइरहेको परिप्रेक्ष्यमा जुन २१ देखि सम्पूर्ण प्रतिबन्ध हट्ने र गतवर्ष हुन नसकेको गोर्खा कप यसपाली सम्पन्न हुने विश्वास छ’- गुरुङले भने ।

यसपटक पनि बिगतमा जस्तै ४० वटा टीमबीचमा खेल हुनेछ, जसमा ३२ वटा युथ र ८ वटा भेट्रान टीम रहने पनि अध्यक्ष गुरुङले जानकारी दिए । १० औं हजारले अवलोकन गर्ने यूकेको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा बेलायतका विभिन्न शहरबाट नेपालीहरुको उपस्थिति हुने गर्दछ ।

प्राय सबै उमेरका मानिसका लागि आकर्षक बनेको गोर्खा कपमा फुटबल खेलका साथै मनोरन्जन र व्यापारिक गतिविधि समेत हुन्छ ।

बेलायती नेपाली डायस्पोराको सबैभन्दा वृहत इभेन्ट गोर्खा कपले नेपाली युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै नेपाली कला, संस्कृति, खाना, वेशभूषाको समेत प्रवर्धन गर्ने विश्वास आयोजकलाई छ ।

गोर्खा कपमा खाना तथा हस्तकलाका स्टल, प्यारा डिस्प्ले, राफल ड्र, सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण हुने गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू