शुक्रबार, चैत १६, २०८०
00:37 | ०६:२२

नेपाली राजनीतिका गलत प्रवृत्ति

शशी पौडेल मार्च ७, २०२१

शशी पौडेल

नेपालका पछिल्ला राजनैतिक घट्नाहरुले सहजै केही प्रश्न उठाएको छ । प्रश्न के हुन् भने के राज्य सञ्चालन नेपाली जनताको पक्षमा छ ? अथवा राजनीतिलाई आफ्ना सम्भावना भन्दा बाहिर डोरयाइएको छ ? र यदि त्यस्तो हो भने किन त्यस्तो भइरहेको वा गरिएको छ ? कसरी र के कारणले गलत राजनीतिको विकास हुन गइरहेको छ ? र यसलाई कसरी सही बाटोतिर डोरयाउन सकिन्छ भन्ने ?

सर्वप्रथम उपरोक्त प्रश्नहरुको उत्तर खोज्न नितान्त आवश्यक छ । जस्तै कसरी र कुन राजनीतिक ब्यवस्था वा प्रणालीले राज्यलाई सही दिशातिर लैजान्छ र कसरी गलत बाटोतिर डोरयाउने राजनीतिलाई राज्य सञ्चालनबाट अलग्याउन सकिन्छ भन्ने न कि पहिले नै असफल भएका एवं जनहित विपरित काम गरिसकेकाहरुकै पछि लागेर अथवा नेपाल र नेपालीहरुका हितका लागि नभइ छिमेकी मुलुकको कम्फरटेबलकालागि राजनीति गर्नेहरुको उत्तेजित भाषण सुनेर आफूलाई बलिदान दिने ?

किन नेपाली जनताका आशा र सपनाहरु कर्कलाको पानी जस्तै चिप्लिरहेछन् ? यसले के देखाँउछ भने नेपाली राजनीति सञ्चालनमा गरिएका गलत निर्णयहरु, ब्यक्तिगत महत्वाकांक्षा बोकेर राजनीतिमा आएका ब्यक्तिहरु, लोभ, लालच, ब्यक्तिगत स्वार्थ र इश्र्याले भरिएका ब्यक्तिहरुको नेतृत्वमा राजनीति जानाले जनताको पक्षमा गरिने राजनीतिक चिन्तनको विकास हुन सक्तैन् ।

नेपालको भविष्य लैंगिक, जातीय वा वातावरण प्रदुषण कुरा र पटक पटक सत्तामा पुगिसकेकालाई जुरुक्क उचालेर फेरी सत्तामा राख्ने मात्र वहस, छलफल वा आन्दोलन गरेर मात्र पुग्दैन् । नेपालको राजनीतिलाई सही दिशातिर लैजान वा नेपालको भविष्य उज्यालो बनाउन चाहने हो भने राजनैतिक सिद्धान्तको वहस, शिक्षा, स्वास्थ्य, रोजगारी, नीति र कार्यनीतिमा प्रष्ट रोडम्याप तयार पारिएको हुनु पर्छ । तबमात्र हाम्रो समाजलाई सचेत र बलियो बनाउन सकिने छ ।

यदि मैले कम्युनिष्ट गलत भने वा मैले टेबुल प्रजातन्त्र बहिस्कार गरें र यदि म हाम्रो राजनीतिमा आएको गलत प्रवृत्ति आज भन्दा भोलि झन् भन्दा झन् बलियो बनाउदै लगे वा मुखले म यो गलत प्रवृत्तिको विरोधमा उभिएको छु भनें भनेपनि यो होइन कि मैले साँचो अर्थमा परिवर्तन वा जनमुखी राजनीति गरिरहेको छु । त्यसैले हामीले सर्व प्रथम हाम्रो समाजमा सकारात्मक र नकारात्मक प्रभाव पार्ने हाम्रा कार्य र कार्यशैलीलाई पहिचान गर्न सक्नु पर्छ ।

दुर्भाग्यवस हाम्रो जस्तो खुला समाजको के कमजारी हुंदो रहेछ भने हरेक मान्छेहरुले सहजै हिजै मात्र आफूले गरेका कुकर्महरु बिर्सेर आफू एकदम असल छु र मैले गरेका सबै कामहरु सबैको हितको निम्तिमात्र भएका छन् । उसलाई कहिल्यै पनि यो महशुस हुन्न कि मैले यो यो काम गलत गरेको थिएं वा मैले यो यो कुरा गलत गरेको थिएं अनि मैले यतिखेर यो काम गलत गरिरहेको छु ।

यसै कारणले हाम्रा नेताहरुले गरेका काम कार्यवाही मात्र होइन कि यी नेताहरुको गलत आशय नबुझिकन यिनैहरुको पछि लागिदिनाले पनि हामीलाई वाध्यतावस गलत दिशातिर डोरयाइरहेको हुन्छ । यो पनि हाम्रो गल्ती हो किनभने हामी अन्जानमै लहलहैमा पछि लागिरहेका हुन्छौं ।

(हाल जर्मनीमा रहेका पौडेल लेखक तथा राजनीतिक चिन्तक हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू