बिहीबार, चैत १५, २०८०
15:13 | २०:५८

मेलम्ची पानी: काठमाडौँबासीको दुई दशकको सपना पूरा

–सञ्चिता घिमिरे/रासस मार्च ६, २०२१

काठमाठौं । आज सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको दुई दशकको सपना पूरा भएको छ ।

मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट परीक्षणका लागि सुरुङमा हालेको मेलम्चीको पानी १२ दिनपछि आज सुन्दरीजलमा आइपुगेको हो । अबको केही समयसम्म सुरुङ पखाल्न लाग्ने बताइएको छ ।

तीन वटा खण्डबाट सुरुङ पखाल्ने (फल्सिङ) को व्यवस्था मिलाइएको मेलम्ची खानपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार सुरुको खण्ड अम्बाथानबाट ग्यालथुमसम्मको खण्ड रहेको छ । करिब पाँच किमी लम्बाइको उक्त खण्ड उकालो छ । सो खण्ड भरिएपछि पानी ग्यालथुमबाट सिन्धुतिर दोस्रो खण्डमा प्रवेश गर्ने उनले जानकारी दिए । सो खण्डको लम्बाई आठ दशमलव दुई किमी छ । तेस्रो खण्डका रुपमा रहेको सिन्धुबाट सुन्दरीजलसम्मको खण्ड सबैभन्दा लामो छ । झण्डै १० किमी लम्बाईको सो खण्ड पार गरेर पानी सुन्दरीजल आइपुगेको हो । एकै पटक नभरिएपनि एउटा तहसम्म पुगेपछि अर्काे खण्डमा पानी पुग्ने पन्तको भनाइ छ ।

सुरुङ पखाल्न पूरै भल्भ खोलेर राखिने आयोजनाले जनाएको छ । सुरुङ सफा भएपछि मात्रै पानी प्रणालीमा पठाइने प्रवक्ता पन्तले बताउनुभयो । सुरुङ सफा गर्दा भित्र धमिलो पानी आएपछि त्यसलाई बागमतीमा पठाइने उनले बताए । सफा पानी आएपछि सुरुङ पखालिएछ भन्ने हुन्छ । सुरुङ पखाल्ने ठाउँ अम्बाथान, ग्यालथुम, सिन्धु र सुन्दरीजलमा रहेको छ । पन्तले भने, “सुन्दरीजलमा पानी पखालिएपछि त्यही पानी बाग्मतीमा आउने हो ।”

सुरुङको गेट थुनेर परीक्षण भइरहेको छ । अहिले सानातिना समस्या भएमा तुरुन्त देखिने आयोजनाले जनाएको छ । सुरुङमा समस्या भए-नभएको भन्ने विस्तृत रुपमा जानकारी सुरुङ भरिएपछि नै थाहा हुने उनको भनाइ छ । सुन्दरीजलमा पानी आएर केही समयमा नै पानी प्रणालीमा जाने भएकाले निर्माण व्यवसायीलाई तयारी अवस्थामा रहन भनिएको प्रवक्ता पन्तले बताए । सुरुङ पखालेर सफा भएपछि मात्रै प्रशोधन केन्द्रमा हालिने उनको भनाइ छ । सुरुङबाट पानी सफा भएर आउन अझै केही दिन लाग्नसक्ने उनले बताए । उनले भने, “ठूलो चुहावट नभएकामा चैतसम्ममा पानी प्रणालीमा पठाउन सकिन्छ ।”

सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने उनले जानकारी दिए । सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने प्रवक्ता पन्तले जानकारी दिए । अहिले बागमतीको पानीमार्फत परीक्षण भइसकेको छ ।

यसअघि गत असारमा परीक्षणका लागि सुरुङमा पानी पठाइएको थियो । पानी भर्न थालिएको एक सातामा पानी बाहिर निस्केको हो । दुर्घटनाका बारेमा बुझ्नका लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले द्वारभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो । समितिकै सुझावका आधारमा गेटको फ्रेम नयाँ राखिएको छ ।

सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनीद्वारा निर्माण गर्ने कम्पनी दुवैको छ । इटास कम्पनी परामर्शदाताका रूपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो । आयोजनामा यसभन्दा पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो । नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले द्वार निर्माणको बाँकी काम सम्पन्न गरेको थियो ।

आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी जिम्मेवारी लिएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अहिले ‘हेडबक्स’ निर्माण गरिरहेको छ । ‘हेडबक्स’ को निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । अहिले अस्थायी बाँधबाट पानी पथान्तरण गरिएको छ । मेलम्चीको सुरुङमा दुर्घटना भएपछि पनि अरू निर्माणका काम रोकिएको थिएन । बन्दाबन्दीको अवधिमा पनि निर्माणस्थलमा काम भइरहेको थियो ।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो । पछिल्लो पटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिक रूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटकपटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लो पटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू