शुक्रबार, वैशाख १४, २०८१
18:41 | २३:२६

बेलायती जनगणनामा नेपाली समुदायलाई सहभागी गराउने तयारी तीव्र

नेपाली लिङ्क मार्च ५, २०२१

लण्डन । बेलायतवासी नेपालीहरू करीव दुई साताभित्र (२१ मार्च) इंग्ल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा हुन लागेको जनगणनाका लागि तयारी अवस्थामा छन् । एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषद्को नेतृत्वमा स्थानीय संघसंस्थाहरूले बेलायतभर चलाएको अभियानले नेपाली सहभागिता उल्लेख्य हुने भएको हो । नेपाली पहिचान स्थापना गर्न गत २९ जनवरी देखि इंग्ल्याण्ड राज्य परिषदले नेपाली समुदायमाझ घनिभूत रूपमा काम गर्दै आएको छ ।

यस अभियानमा परिषद् अध्यक्ष दीपक श्रेष्ठसहितको सिंगो कार्यसमिति लागि परेको छ । परिषद्ले बेलायतमा सक्रिय सयौं नेपाली संस्थाहरूसँग समन्वय गरी जनचेतना र जनजागरण अभियान चलाइरहेको छ । आगामी २१ मार्चसम्म नै जनचेतना तथा जागरण अभियान तीव्र पारी कार्यक्रम जारी छ । त्यसका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ । उनीहरुले पनि आ-आफ्नो क्षेत्रमा काम गरिरहेका छन् ।

जनगणना अभियानमा नेपाल अध्ययन केन्द्र (सिएनएस) यूकेका डा. कृष्ण अधिकारी, नरेशखपांगी मगर र बेलायत सरकारको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) का कम्युनिटी सल्लाहकारहरू समीर गुरूङ तथा मैयाँ केसी डंगोलले निरन्तर योगदान दिइरहेका छन् । प्रथम चरणमा बेलायतमा सक्रिय नेपाली संघसंस्थाहरुका विवरण संकलन र अद्यावधिक गर्ने काम कार्यसमितिले गरिसकेको छ ।

ओएनएसका एसिया तथा नेपाली समुदाय हेर्ने अधिकारीहरूसंग पनि निकट सम्पर्क र समन्वयमा रहने नीति बनाइ जनचेतनाका लागि ओएनएसबाट स्वीकृति प्राप्त गरि नेपाली भाषाको पोस्टर तथा सिएनएससंग मिलेर तयार पारिएको नेपाली भाषामा न्यूजलेटर नेपाली समुदायमा हाल वितरण गरिंदैछ । त्यसैगरी फेसबुकमा जनगणना सचेतनाको ‘फ्रेम’ बनाएर अभियानलाई चुस्त बनाइएको छ ।

सन् २०११ को जनगणनामा धेरै नेपालीले जातीयतामा गोर्खा, गुरुङ, नेवार, मगर, लिम्बु, मैथिली, तामाङ लगायत छुट्टाछुट्टै जाति लेखेर विभाजित भइ नेपालीको संख्या कम देखिएकोले यो जनगणनामा सो समस्या हुन नदिन वहुसंख्यक संघसंस्थाहरूले व्यापक अभियान चलाउने र नेपाली लेख्ने निर्णय भइसकेको छ ।

रोयल ग्रीनवीच नेपाली समाज, ग्रान्थम नेप्लिज समाज, डार्टफोर्ड नेपाली समाज, तमु समाज यूके, बेक्सी नेपाली समाज, क्षेत्री समाज युके, तमुधिं यूके, मिडल्यान्डका नेपाली समाजहरू एवं इनास यूकेले हालसम्म ‘भर्चुअल’ बैठकहरुमार्फत जनचेतना फैलाउने कार्यक्रम गरिसकेका छन् भने यसरी नै अझै धेरै समाजले कार्यक्रम ल्याउंदैछन् ।

इनास यूकेसंग सहकार्य गर्दै लोकप्रिय कलाकार एवं सार्बजनिक ब्यक्तित्वहरुको सद्भाव र प्रभाव पनि प्रयोग गर्ने नीति अनुरुप वरिष्ठ हांस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, प्रख्यात हांस्य कलाकार सन्दीप छेत्री, बुद्धि तामाङ, दमन रूपाखेती, वरिष्ठ गायिका मीरा राणा, योगेश्वर अमात्य, नलिना चित्रकार, शर्मिला बर्देवा, जेम्स प्रधान, नायक धिरेन्द्र शाक्य, रबिन्द्र खड्का, द्वन्द्व निर्देशक तथा निर्माता राजेन्द्र खड्गी, आवाजको दुनियाका साथी दिनेश डिसी, नृत्य निर्देशक राजु शाह, नरेन्द्र थापा लगायत दर्जनौं नेपाली कलाकार, गायक-गायिकाले पनि जनगणना सहभागिता तथा नेपाली लेख्न अपिल सहितको छोटो प्रभावकारी भिडियो क्लिपहरु तयार गरि सार्वजनिक गरिसकिएको छ भने यसै सन्दर्भमा जिङगल बनाएर भिडियो तथा रेडियो मार्फत प्रचार प्रसार गरिरहेको छ ।

जनगणनामा छुट्न सक्ने, सहयोग आवश्यक पर्न सक्ने र स्वयंसेवामा तत्काल परिचालन गर्न सकिने अवस्था पहिचान गरि संघसंस्था समन्वय कार्यदल (सह-संयोजकद्वय गजेन कटुवाल र महेश अधिकारी), गोर्खा सम्बद्ध कार्यदल (संयोजक क्याप्टेन महेन्द्र लिम्बू), हेल्पलाइन कार्यदल (संयोजक इन्जिनियर पुन्य रेग्मी), सिनियर नागरिक कार्यदल (संयोजक कुमार श्रेष्ठ), एथ्निक कार्यदल (संयोजक रामधन राई), मोबाइल सहयोग कार्यदल (संयोजक बिक्रम भट्टराई), स्वयंसेवक कार्यदल (संयोजक जीवन सेन), आइटी कार्यदल (संयोजक ह्यारी गुरूङ), मिडिया कार्यदल (संयोजक श्याम लुईटेल), महिला कार्यदल (संयोजक प्रसुना कंडेल) र युवा कार्यदल (संयोजक अहिल्या कुंवर) गरी ११ वटा अत्यन्तै चुस्त र परिणाममुखी कार्यदल बनाइ सक्रिय पनि भइसकेका छ्न् ।

इंग्ल्याण्ड राज्य परिषदले बेलायतस्थित संघसंस्थाहरु एबं जनमानसमा यी कार्यदलहरुको सेवा लिन र समन्वयमा साथ दिन अनुरोध गरेको छ । यी कार्यदलहरुमा समावेश भई सेवा र योगदान गर्न इच्छुक सवैलाई सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

परिषदले जनगणना दर्ता प्रभावकारी बनाउन जनगणना दर्ता गरिसकेका ब्यक्तिहरुले क्रमैसंग आ-आफ्नो नाम र दर्ता भएका परिवार वा बस्नेहरुको संख्या तथा जम्मा दर्ता संख्या पनि आ-आफ्नो समाजको भाइवर, ह्वाटसएप वा अन्य औपचारिक सामाजिक सन्जालमा अद्यावधिक गरि दर्ता गर्न बाँकी सदस्स्यहरुलाई प्रेरित गर्न सकिने हुदा जनगणना दर्ता पोस्टको ट्याबलेट बनाइ सवै संस्थालाई वितरण गरिएको छ ।

जनगणनामा अधिकतम नेपालीहरुलाई समावेश गराइ नेपाली पहिचान स्थापना गर्ने चुनौतीलाई अवसरमा बदल्ने अठोटका साथ इंग्ल्याण्ड राज्य समन्वय परिषदले बेलायतका सवै संस्थाहरुसंग समन्वय गर्दै अघि बढेको छ ।

यो अभियानलाई सार्थक र परिणाममुखी बनाउन ब्यक्तिगत, संस्थागत जिम्मेवारी निर्वाह गरि ‘हामी नेपाली र हाम्रो सन्ततिको उज्ज्वल भविष्य बनाउने अभियानमा सहभागी होऔं र अरुलाई पनि प्रेरित गरौं’ भनि परिषदले आव्हान पनि गरेको इंग्ल्याण्ड राज्य समन्वय परिषद् यूके-जनगणना सचेतना कार्यक्रम २०२१ का मिडिया कोअर्डिनेटर श्याम लुईटेलले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू