शुक्रबार, वैशाख १०, २०७८
21:51 | ०२:३६

सत्ता र प्रविधि हैकमबीच सन्तुलनको खाँचो

गोविन्द बेल्वासे फ्रेब्रवरी १८, २०२१

वाक तथा प्रकाशन स्वतन्त्रता, प्रविधि र राज्यसत्ताबीच नयाँ तनाव देखिएको छ । यो विवाद अष्ट्रेलियामा अहिले शिखर चढेको छ । एकातिर समाचारपत्रहरूले दुख गरेर कमाउने स्रोत बनाएको समाचार फेसबुक जस्ता सोसल मिडियामा शेयर हुँदा कमाइ गुमेको गुनासो छ । अर्कोतिर सर्वसाधारणले सूचनामा छलफल गर्ने अधिकार गुमाउन चाहँदैनन् । अष्टेलियाले यस विषयमा सन्तुलन मिलाउन कानून बनाउने प्रक्रिया अघि बढाएपछि यो विषयले चर्चा पाएको हो । उक्त कानूनमा व्यवस्था गर्न लागिएको प्रस्ताव पालन गर्न फेसबुकले जमर्को गरेको छ । आज फेसबुकले अष्ट्रेलियाका प्रयोगकर्तालाइ कुनै समाचारपत्रको लिंक शेयर गर्न नपाउने गरी रोक लगाएको छ । प्राविधिक नियन्त्रण गरिएको छ । प्राविधिक गल्तीले गर्दा केही सरकारी सूचना पनि रोकिन गएकोलाइ भने उक्त कम्पनीले गल्ती भएको स्वीकार गर्यो र नियन्त्रण फुकुवा गरिसक्यो । यस्तै प्रकारको विवाद बीस वर्षअघि ‘एमपी थ्री’ प्रविधिबाट संगित साझा गर्ने विषयमा पनि उत्कर्षमा पुगेको थियो ( पुरानो आर्टिकल पढ्न यहाँ क्लिक गरौं ) । विवाद अदालतमा अल्झिन पुग्यो । उस बेला म साइबर कानूनको विद्यार्थी थिएँ ।

मेरो दश कक्षासम्मको स्कूल शिक्षाबाट यात्रा शुरु गरेको एउटा सवारी साधन कुद्दै गर्दा तीन वटा अरू सवारी साधन पनि संगसँगै कुद्दै रहेछन् । एउटा सवारी साधनमा कुदेको नमिता–सुमिता हत्याकाण्ड निर्मला पन्त हत्याकाण्डसम्म पुगेको छ । म तौलिहवाबाट कलेज पढ्ने धुनमा काठमाण्डौ हुइँकिँदै गर्दा बिल गेट्स माइक्रोसफ्ट लिएर वासिङटनतिर हुइँकिँदै रहेछन् । अर्को सवारीमा वाइवाइ चाउचाउ लिएर यात्रा शुरु गरेका विनोद चौधरी फोर्ब्स म्यागजिनको सूची भेट्न रेडीबाट स्टेडीको चरणमा थिए ।

यी चारवटा सवारी साधनमध्येको म सवार भएको गाडी कलेज यात्राबाट नातिको नर्सरीसम्म पुगेको छ । नमिता–सुमिताको हत्याकाण्डको खुला विरोध हुन नसक्ने स्थितिबाट निर्मला पन्तका हत्यारा खोज्ने टिसर्टको प्रदर्शन प्रधानमन्त्रीको मञ्चसम्म देखिने गरी उज्याला भएका छन् । यी चार गाडीको गति फरक फरक भए पनि अहिलेको गन्तव्यसम्म पुग्न चालीस वर्षको यात्रालाइ छोटो भने भन्न मिल्दैन ।

यो अवधि अनुभव गर्नेले प्रविधिको फड्को अनुभूति गरेका छन् । नयाँ पिढिँका लागि हाम्रा पुराना अनुभव अपत्यारिला हुन सक्छन् । राजा, राज्य र सरकार नै सर्वेसर्वा शक्तिवान भएको अवस्था थियो उतिबेला । राजाको आदेश हुकुमप्रमांगी भएर कानूनमाथि हुन्थ्यो । सिद्धान्तमा अहिले सवै राज्य–शक्ति कानून मुनि हुन्छन् । अहिले कुनै राज्य मात्र होइन विश्वभरि दबदबा बनाएर प्रजातन्त्रको नयाँ स्वरूप देखाउन सोसल मिडिया व्यस्त छ । सर्वशक्तिवान देश मानिएको अमेरिकाका निवर्तमान राष्ट्रपतिलाइ ट्विटर र फेसबुकले प्रतिबन्ध गर्ने नयाँ शक्तिको स्वरूप सिर्जना भएको छ । हुन त तीन दशकअघि नै एउटा कम्पनीले अमेरिकी सरकारलाई दबाब दिन सक्ने अवस्था सिर्जना भइसकेको थियो । माइक्रोसफ्ट कम्पनीले सफ्टवेरमा गरेको सानो फेरबदलले अमेरिकी सरकारका हरेक कार्यालयका काम कारवाहीमा दख्खल दिन सक्ने स्थिति बनिसकेको थयो । कम्प्यूटर नचलाइ कार्यालयका काम नचल्ने स्थिति बनिसकेको थियो । अहिले एउटा देशमात्र हैन धेरै देशका सरकारलाइ दख्खल दिन सक्ने धेरै कम्पनीहरू शक्तिवान भइसकेका छन् । ती कम्पनीहरूलाई राज्यशत्ताको नियन्त्रण भित्र राख्न सजिलो छैन । क्रिप्टो करेन्सीको विश्वव्यापी स्वरूपको प्रयोग र प्रशासनिक नियन्त्रण बुझ्न त झन कठिन छ नै ।

प्रविधिको फड्को वाष्प इन्जिनको आविस्कारपछि तीव्र हुँदै गएको हो । अरूलाई होच्याउन र घमण्ड गर्न त पण्डितहरूले ब्ल्याक होल र अर्गान ट्रान्सप्लान्ट त पुर्खाले नै जानेका थिए भनिदिन्छन् । बेदका ऋचाको गफ पनि दिने गर्छन् । गणेश भगवानको टाउकोसंग चिकित्सा विज्ञानको उन्नति र ॐको ध्वनिसंग ब्ल्याक होलको गफ दिन पनि भ्याउँछन् । तर, बेलायतीहरूले भारतमा वाष्प इन्जिनले चलाएका रेलमा बोकेको नुन हिमालसम्म पनि दक्षिणबाट डोकामा बोक्न थालेका हौँ । त्यस भन्दा पहिला बोक्ने गरेको उत्तरको नुन भन्दा दक्षीणको नुन खान थालेको यथार्थ बुझ्न किठन छैन । त्यही प्रविधि विकासकै कारण बेलायतीले सूर्य नअस्ताउने गरी साम्राज्य फैलाएका थिए ।

पेट्रोलियम इन्धनबाट चल्ने अटो इन्जिनको प्रयोग हुन थालेपछि विश्व बजार फेरियो । यात्रा गर्न र सामान ढुवानी गर्न झन् सजिलो भयो । व्यापार विस्तार हुँदै गयो । साथसाथै, बेलायती साम्राज्य पनि साँघुरिन शुरू भयो । पहिलो र दोस्रो विश्व युद्ध पनि भए । परिणाम वरूप राजाहरूबाट सत्ता गणतन्त्रमा परिणत हुन थाले । निर्वाचनबाट सरकार गठन हुने प्रचलन बढ्दै गयो ।

वाष्प इन्जिन र पेट्रोलियम इन्जन पछि प्रचलनमा थपिएको डिजिटल प्रविधिको प्रयोगसंगै सोभियत संघको सत्ता ढल्यो । सूचना प्रविधिले सामाजिक संरचना र मान्यताहरू बदलिन थाले । प्रविधिको जति कमी थियो मानिसले प्रकृतिका रहस्यहरू त्यत्ति नै बुझ्न सकेको थिएन । पानी पर्नुमा पनि इन्द्र भगवानको कल्पना गरिन्थ्यो । कृषिका लागि पानी पार्न इन्द्र भगवान रिझाउने पूजा गरिन्थ्यो । नबुझेका त्यस्ता रहस्यहरू पत्ता लगाउन भन्दा भगवानको काम हो भनेर चित्त बुझाउन सजिलो भयो । भगवानको सिर्जनाको सिद्धान्तमा सन्तोष मानेर बस्न सजिलो भएकै कारण धर्मका नीति नियमले प्राथमिकता पाउने गर्थे । जति प्रविधि विकास हुँदै जान्छ, मानिसहरूले पनि धार्मिक विश्वासलाइ त्यत्ति धेरै विश्लेषण गर्न थाल्छन् । एउटा रहस्यको उत्तर भेटिए पनि अर्को रहस्यको उत्तर खोजिरहन बैज्ञानिकहरू मस्तछन् । यसैबीच धर्म गुरू र भक्तहरू विज्ञानको निन्दा गर्नमा रमाएको पाइन्छ ।

प्रविधिले मानिसको आयु लम्बाएको छ । यात्रा सहज पारेको छ । संवाद सजिलो पारेको छ । यी राम्रा पक्षसंगसंगै यी सुविधा र सामाजिक सन्तुलन मिलाउने चुनौती पनि थपिँदै गएका छन् । ट्विटरमा ट्रम्पले जथाभावि लेख्दा खुसी हुने जमात ट्विटरमा ट्रम्पको सन्देश पढ्न नपाएर छट्पटिएका छन् । अष्ट्रेलियाका जनप्रतिनिधि नयाँ चुनौतीको तालमेल मिलाउने कानूनको खोजीमा जुटेका छन् । बर्माको सेना सूचना प्रविधि बन्द गरेर निर्वाचित सरकारको विकल्पमा सत्ता चलाउने रहरमा जुटेको छ ।

एम पी थ्रीको डिभाइसले संगीत व्यापार प्रचलनमा गरेको दख्खल छेक्नु उचित थिएन । सम्भव पनि भएन, रोक लागन । त्यसैले युट्युवको सुविधा समाजले पायो । त्यस्तै सूचना शेयर गर्ने, साटासाट र साझा गर्ने प्रचलन रोक्ने अष्ट्रेलिया सत्ताको प्रयास पनि उचित देखिँदैन । कानून बन्नुअघि नै फेसबुकले अष्ट्रेलियामा कानूनले गर्न खोजेको प्रतिबन्धले सर्वसाधारणलाई पुर्याउने घाटा उजागर गर्ने तथा ठूलो जनचेतना फैलाउन सफल भएको छ । व्यापारिक हैकम कायम हुनु हुँदैन र जुकबर्गको जनकल्याणकारी भावनापछिका नयाँ मालिकमा पनि रहन्छ नै भन्ने निधो पनि छैन । त्यसैले जनकल्याणविरोधी प्रविधि हैकम र सरकारी नियन्त्रण दुवै खराब हुन् । तर, पनि सत्ता, प्रविधि हैकम र जनकल्याणको तालमेल मिलाउने पद्दतिको खोजी गर्न प्राज्ञहरूले नै जिम्मा लिनुपर्ने हुन्छ । आशा छ प्राज्ञहरू राम्रो निकास निकाल्नमा सफल हुनेछन् ।

(समसामयिक विषयमा कलम चलाउने बेलायतवासी लेखक अधिवक्ता हुन् ।)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू