बुधबार, वैशाख १२, २०८१
15:27 | २०:१२

नेकपा बेलायत अध्यक्ष गुरुङद्वारा एनआरएनए आइसीसी सदस्यबाट राजीनामा

गुरुङ नेतृत्वको संगठन नै आधिकारिक भएको दावी

नेपाली लिङ्क फ्रेब्रवरी १४, २०२१

लन्डन ।  नेकपानिकट प्रवासी नेपाली एकता मञ्च यूकेका नवनिर्वाचित अध्यक्ष भक्त गुरुङले एनआरएनए आइसीसीको सदस्य पदबाट राजीनामा घोषणा गरेका छन्   

आइतबार  बिहान आयोजित पत्रकार सम्मेलनमार्फत् उनले मञ्चमा अध्यक्षको जिम्मेवारी लिएका कारण एनआरएनएको भूमिकाबाट अलग हुने निर्णय गरेको सुनाए ।  

एनआरएनए आइसीसीलाई जानकारी गराएर केन्द्रीय सदस्यको आफ्नो भूमिकालाई  ‘स्थगित’ गर्ने क्रममा रहेको गुरुङले बताए ।  

‘मञ्चको जिम्मेवारी  बोकेपछि अब एनआरएनएमा समय दिन असहज हुने ठानेर मेरो भूमिकालाई स्थगित गर्ने सोच बनाएको छु’, उनले भने ।  

पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष गुरुङ, वरिष्ठ उपाध्यक्षहरु सुरेन्द्र थपलिया र विनोद ज्ञवाली, पूर्व अध्यक्ष एवम् सल्लाहकारहरु  आकलजंग लामा, दिनेश घिमिरे, रामशरण सिम्खडा लगायतले मन्तव्य राख्दै पत्रकारका प्रश्नको पनि जवाफ दिएका थिए ।  

उनीहरुले गुरुङ नेतृत्वको प्रवासी नेपाली एकता मञ्च नै बेलायतको मुलधार रहेको दावी गरेका छन् । नेकपानिकट संगठन रहेपनि बेलायतस्थित नेपालीहरुको प्रतिनिधिमुलक संस्थाका रुपमा अघि बढ्ने प्रतिबद्धता उनीहरुको थियो ।  

त्यसअवसरमा अध्यक्ष गुरुङले विशेष भेलाबाट निर्वाचित संगठनको केन्द्रीय तथा क्षेत्रीय समितिहरुको घोषणा गरेका थिए ।  उपाध्यक्ष तुंगभद्र भुषालले विशेष भेलाको निर्णयहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रम संचालन मञ्चका महासचिव सुरेशजंग शाहले गरेका थिए ।  

गुरुङ नेतृत्वको संगठन नै आधिकारिक भएको दावी

बेलायतमा भक्त गुरुङको नेतृत्वमा पुनर्गठन गरिएको संगठन प्रवासी नेपाली एकता मञ्च यूके नै आधिकारिक संगठन भएको उक्त संगठनले दावी गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै संगठनले कुनै भ्रम र गुटगत प्रभावमा नपरी मञ्चको संगठनमा आवद्ध हुन पनि सम्पूर्ण सदस्यहरूलाई अपिल गरेको छ ।

मञ्च नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नीति तथा कार्यक्रमलाई समर्थन गर्ने पार्टी सदस्य, समर्थक र शुभेच्छुकहरुको साझा संगठनको रुपमा प्रवासी नेपालीहरुको बीचमा अत्यन्त लोकप्रिय संगठन भएको र विगत लामो समयदेखि नेपालको लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय हितका साथै प्रवासी नेपालीका सरोकारका विषयहरुमा आवाज उठाउन सधैं अग्रपंक्तिमा रहेको पनि मञ्च यूकेका अध्यक्ष भक्त गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संगठनको नीति निर्देशनको आधारमा चल्ने भन्दापनि गुटीय प्रभावमा परि संगठनको हित विपरित गुटगत गतिविधिमा रमाउने, पार्टी नेतृत्व र सरकारले गरेका कामप्रति भ्रम सिर्जना गर्ने गराउने काम गरेको तथा संगठनका सम्पूर्ण सदस्यहरुलई संगठित गरी संगठन निर्माण गर्न र प्रवासी नेपालीहरुको नेपाली नागरिकता निरन्तरता, सम्पत्तिको अधिकार, पूर्व ब्रिटिस गोर्खा सैनिकका समानताको आन्दोलनप्रति ऐक्यवद्धता लगायत तमाम आर्थिक सामाजिक अधिकार स्थापित गर्न नेपाल सरकारसंग दवाव र हातेमालो गर्दै अगाडि बढ्नु पर्ने निर्णयक समयमा ठोस काम गर्न असफल भएकाले इलाका तथा केन्द्रिय कमिटी पुनर्गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

गत ७ फेब्रुअरी २०२१ का दिन प्रवासी नेपाली एकता मञ्च यूकेको विशेष राष्ट्रिय भेलाले भक्त गुरुङको अध्यक्षतामा १२५ सदस्यीय राष्ट्रिय कमिटी तथा विभिन्न इलाकामा इलाका कमिटी पुनर्गठन गरेको थियो ।

‘हाम्रो संस्था कुनै राजनीतिक दलको भातृसंस्था होइन । तथापि, हामी नेपालका लोकतान्त्रिक, प्रगतिशील र देशभक्त विचारहरुलाई अंगीकार गर्ने सामाजिक तथा राजनीतिक शक्तिहरु मिलेर देशको उन्नति प्रगतिमा लागुन् भन्ने कामना गर्दछौं । हामी देशमा जकडिएर बसको अविकसित प्रणाली, पछौटेपन, सामाजिक कुरितिहरु उन्मुलन भई समृद्ध र सभ्य समाज बनुन् भन्ने चाहना राख्छौं र त्यस दिशामा अघि बढ्ने शक्तिहरुको पक्षमा उभिन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ- ‘यस अर्थमा, यो संस्थामा रहेका हामीहरुले नेपाली समाजको अमूल रुपान्तरण गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने मूल मन्त्रलाई राष्ट्रिय संकल्प बनाई अघि बढेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र यसको सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको कदमहरुको समर्थन गरेका हौं ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू