शनिबार, वैशाख १५, २०८१
01:19 | ०६:०४

चर्को दबाबपछि रिहा भइन् झाँक्री

नेपाली लिङ्क फ्रेब्रवरी ११, २०२१


काठमाडौं । राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । नेकपा प्रचण्ड नेपाल पक्षकी नेतृ झाँक्रीलाई प्रहरीले श्रीमान् पशुपति पुरीको जमानीमा रिहा गरेको हो ।

राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा बिहीबार मध्यान्ह शंखमुलस्थि निवासबार्ट पक्राउ परेकी झाँक्रीलाई ५ घण्टापछि रिहा गरिएको छ । उनलाई दिनभर अपराध अनुसन्धान विभागमा राखिएको थियो ।

रिहा भएलगत्तै प्रतिक्रिया दिंदै नेतृ झाँक्रीले प्रतिगमनको हार भएको बताएकी छन् । आफू बिनाशर्त रिहा हुनुबाट सरकार झुकेको सन्देश गएको उनको दाबी छ । प्रतिगमनविरुद्धको आन्दोलनमा अझै सशक्त रुपमा लाग्ने अठोट उनले व्यक्त गरेकी छन् ।

प्रहरीले राज्यविरूद्धको कसुर दफा ५८ अनुसार झाँक्रीलाई पक्राउ पुर्जी थमाएको थियो । उनलाई प्रहरीले पक्राउ गरेपछि उनको दल नेकपा (प्रचण्ड–नेपाल)सहित, नेपाली काँग्रेस, विभिन्न दलका नेता, अधिकारकर्मीलगायतले विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए ।

यस्तै, प्रचण्ड–नेपाल पक्षका नेकपा नेता कार्यकर्ताले राजधानीको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन समेत गरेका थिए ।

यसैबीच, महाशाखामा झाँक्रीले आफ्नो राष्ट्रपति र सो संस्थाप्रति सम्मान रहेको बताएकी थिइन् । संविधानले दिएको अभिव्यक्ति स्वन्त्रताको उपयोग गर्दै राष्ट्रपतिको आलोचनासहित भाषण गरेको उनको भनाइ थियो । महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीले राष्ट्रपति र सो संस्थाप्रति सँधै सम्मान रहेको र आगामी दिनमा पनि रहने बताएको जानकारी दिएका छन् ।

हालै गोरखामा भएको एक कार्यक्रममा नेतृ झाँक्रीले राष्ट्रपतिको कडा आलोचना गरेकी थिइन् । सोही अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओली समूहका महिला नेतृहरुले उनलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू