मंगलबार, चैत ६, २०८०
10:31 | १६:१६

बेलायतको कार्यकाल पूरा गरी फर्किए राजदूत सुवेदी

नेपाली लिङ्क फ्रेब्रवरी ७, २०२१

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी आफ्नो कार्यकाल पूरा गरी नेपाल फर्किएका छन् ।

पूर्व निर्धारित ४ वर्षे कार्यकाल गत सेप्टेम्बर महनिामै सकिएपनि नयाँ राजदूत नियुक्ति प्रक्रिया लम्बिएका कारण उनी थप केही महिना बेलायतमै थिए ।

आइतबार दिउंसो ३ बजे कतार एयरवेज विमानमा लन्डन हिथ्रो विमानस्थल टर्मिनल ५ बाट राजदूत सुवेदी पत्नी पुनम राज्यलक्ष्मी सुवेदीसंगै नेपाल उडे । राजदूत सुवेदीलाई लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालसहित दूतावासका कर्मचारीले विमानस्थल पुगेर विदाइ गरेका थिए ।

केही दिनदेखि राजदूत सुवेदी कसैको पनि ‘सम्पर्क’ मा थिएनन् । उनी ‘सुटुक्क’ नेपाल फर्किएकामा समस्त बेलायतवासी नेपाली रुष्ट छन् ।

‘संयुक्त अधिराज्य, आयरल्याण्ड तथा माल्टाका लागि नेपाली राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदीज्यू आज स्वदेश प्रस्थान गर्दै हुनुहुन्छ । यस अवसरमा उहाँले बेलायत, आयरल्याण्ड  तथा माल्टाबासी समस्त आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, सुस्वास्थ्य, समृद्धि, शान्ति र प्रगतिको कामना गर्नुभएको छ’- दूतावासले आफ्नो फेसबुक पेजमा भनेको छ ।

साथै उक्त पेजमा राजदूत सुवेदीले व्यक्त गरेको लिखित सन्देश ‘दूतावासमा रहंदा आफूलाई प्राप्त मित्रता, स्नेह, आत्मीयता एवं सहयोग र सद्भावनाका लागि आदरपूर्वक आभार र हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु’ समेत राखिएको छ । सुवेदीले सन्देशमा नेपाल पुगेपछि पनि आफू सम्पर्कमा रहने र मित्रता, सुसम्बन्ध र आत्मीयता सदा सर्वदा कायम रहने उल्लेख गरेका छन् ।   

बेलायतका लागि नेपालको राजदूतका रुपमा सन् २०१६ सेप्टेम्बर महिनामा डा. सुवेदी बेलायत आएका थिए । आफ्नो कार्यकालमा उनले लन्डन दूतावासको सेवा थप सहज र चुस्त बनाएका थिए ।

भूतपूर्व गोर्खाहरुको थाती रहेको मुद्धालाई आफ्नै कार्यकालमा निष्कर्ष दिलाउने डा. सुवेदीको प्रतिबद्धता भने पूरा हुन पाएन । गोर्खाहरुको मन जित्ने गरी दुई देशबीचको संवाद र वार्ताको लागि उनले पहल गरेका थिए । गोर्खा मुद्धालाई नेपाल सरकारले राष्ट्रिय मुद्धाकै रुपमा बेलायतसमक्ष प्रस्तुत गर्ने अवस्था बन्नमा राजदूत सुवेदीको महत्वपूर्ण भूमिका रहेको गोर्खाहरुको विश्वास छ ।

कूटनीतिक दृष्टिले पनि राजदूत डा सुवेदीको कार्यकाल उपलब्धिमूलक रहेको जानकारहरु बताउँछन् । हालसम्म हुन नसकेको बेलायतका प्रधानमन्त्रीको नेपाल भ्रमण आफ्नै कार्यकालमा गराउने महात्वाकांक्षा राखेपनि उनी सफल हुन सकेनन् ।

उनी लकडाउन अघि नेपाली समुदायका हरेक कार्यक्रममा उपस्थित हुन्थे । कतिपयले साना ठूला जस्ता पनि कार्यक्रममा पुग्नुलाई हल्का रुपमा पनि लिएका थिए । आफ्नो कार्यकालमा उनले गीत-कथा, कविता संग्रह पनि धेरै प्रकाशन गरे ।

सुवेदीको कार्यकालपछि बेलायतको नयाँ राजदूतमा नियुक्त भएका लोकदर्शन रेग्मी फाल्गुण पहिलो साताभित्रै लन्डन आइपुग्ने कार्यक्रम रहेको बुझिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू