मंगलबार, वैशाख ११, २०८१
07:11 | ११:५६

बेलायतमा नेपालीको घुस काण्ड : लकडाउन तोडेर हाई प्रोफाइल सेलिब्रिटीको पार्टी

बेलायती प्रधानमन्त्रीसम्मको ध्यान खिच्न सफल नेपालीको घुस काण्ड

नेपाली लिङ्क जनवरी २९, २०२१

लन्डन । बेलायतमा निकै विवादित र चर्चित बनेको लकडाउन उल्लंघनको एक ‘हाई प्रोफाइल’ प्रकरणमा एक नेपाली समेतको संलग्नता रहेको खुलेको छ ।

चर्चित बेलायती गायिका तथा अभिनेत्री रिता ओराले लकडाउनका बेला लागू प्रतिवन्ध तोड्दै आयोजना गरेको ‘बर्थडे पार्टी’ का लागि ती नेपालीले ५ हजार पाउन्ड ‘घुस’ लिएको तथ्य बाहिरिएको हो ।

लन्डनको नटिङहिलस्थित ‘कासा क्रज’ रेष्टुरेन्टका तत्कालिन जेनेरल म्यानेजर स्कटी भट्टराईले लकडाउनका बेला आर्थिक प्रलोभनमा परी आफ्नो रेष्टुरेन्टमा सेलिब्रिटी गायिकाको जन्मदिन पार्टी गर्न दिएको स्वीकारेका छन् ।

बेलायती मिडिया डेली मेलका अनुसार, लकडाउन उल्लंघन गर्दै पार्टी आयोजना गर्ने गायिका ओराले १० हजार पाउन्ड जरिवाना तिरेकी छन् भने आफूबाट निकै गैरजिम्मेवार र अपरिपक्व कार्य भएको स्वीकार्दै सार्वजनिक रुपमा क्षमा पनि मागेकी छन् । ५ हजार पाउन्ड घुस लिएर पार्टी गर्न दिने नेपाली म्यानेजर भट्टराई पनि कामबाट निकालिएका छन् । लाइसेन्स ‘रिभोक’ गरेर रेष्टुरेन्ट बन्द गराउने कानूनी प्रक्रिया प्रहरीले अघि बढाएको छ ।

गत नोभेम्बर २८ तारिख साँझ सेलिब्रिटी गायिका ओराले आफ्नो तीसौँ जन्मदिनका अवसरमा साथीहरु जम्मा गरेर भट्टराई जेनरल म्यानेजर रहेको रेष्टुरेन्टमा पार्टी गरेकी थिइन् । लकडाउनका कारण रेष्टुरेन्टहरुमा बस्न, खान पूर्ण रुपमा प्रतिवन्ध रहेको अवस्थामा नाम चलेकी गायिकाबाट भएको उल्लंघनको सर्वत्र आलोचना भएको थियो । कतिसम्म भने बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, गृहमन्त्री प्रीति पटेलसम्मले पनि सार्वजनिक रुपमै आलोचना गरेका थिए ।

प्रहरी र स्थानीय काउन्सिलका अफिसरसँग बयान दिंदै रेष्टुरेन्टका म्यानेजर भट्टराईले पैसाको लोभमा परेर गल्ती गरेको स्वीकारेका छन् । सेलिब्रिटी ओराका सहयोगीले साँझ साढे ५ बजे आफ्नो मोबाइलमा सिधै फोन गरी पार्टीका लागि आग्रह गरेको र लकडाउनका बेला पार्टी व्यवस्था गरेबापत आफूलाई ५ हजार पाउन्ड अफर गरेको उनले बताएका छन् ।

रेष्टुरेन्टका अधिकांश स्टाफ फर्लोमा घरमै बसिरहेका कारण आफै गएर सेलिब्रिटिको पार्टी व्यवस्थापन गरिदिएको उनले बताएका छन् ।

तस्विर: डेली मेल

भट्टराईले दिएको वयानअनुसार सेलिब्रिटी ओराको गैरकानूनी पार्टीका लागि शुरुमा ७ /८ जनाका लागि भनी बुक गरिएपनि राती ९ बजेको समयमा १७ /१८ जना जम्मा भएका थिए । पार्टीमा आउनेमध्ये अन्य केही नाम चलेका सेलिब्रिटीहरु पनि थिए ।

रेष्टुरेन्टभित्र खानपिन साथै चर्को म्यूजिक बजाएर नाचगान गरेपछि आसपासका स्थानीयले लकडाउन उल्लंघन भएको आशंकामा प्रहरीलाई खबर गरेका थिए । पार्टीका क्रममा सिसिटिभी क्यामेरा समेत अफ गरेको पाइएको प्रहरीले बताएको छ ।

सेलिब्रिटी ओराले रेष्टुरेन्टको पार्टीपूर्व पनि केही अवसरमा लकडाउन उल्लंघन गरेको पाइएको छ । नोभेम्बर २१ का दिन इजिप्टको एक पाँच तारे होटलमा प्रस्तुति दिन उनी आफ्नो प्राइभेट जेटमा गएकी थिइन् । भोलिपल्टै बेलायत फर्किएकी उनले २ सातासम्म क्वारेन्टिन बस्नुपर्ने नियम मिचेर एक हप्ता नहुंदै गैरकानूनी पार्टी आयोजना गरेकी थिइन् ।

सेलिब्रिटी ओराले लकडाउनको उल्लंघन आफ्नो तर्फबाट भएको गम्भीर र अक्षम्य त्रुटी भन्दै माफी मागेकी छन् । सारा संसार महामारीविरुद्ध लडिरहँदा आफूले स्वार्थी बनेर बर्थडे पार्टीमा रमाउने निर्णय लिएकोमा निकै गैरजिम्मेवार महशुस भएको र त्यसप्रति पश्चाताप लागेको उनले बताएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू