शुक्रबार, चैत १६, २०८०
21:42 | ०३:२७

आरजिएनएसले महामारी प्रभावितको सहयोगमा विशेष अभियान चलाउने

नेपाली लिङ्क जनवरी २९, २०२१

लन्डन । साउथ इष्ट लन्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटी (आरजिएनएस) ले स्थानीय नेपाली समुदायको सहयोगका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कोरोना महामारीबाट प्रभावित समुदायका सदस्यलाई औषधी वितरण, खोप उपलब्ध गराउनको लागि सहजीकरण, जनगणना जागरूकतासम्बन्धि अभियान लगायत कार्यक्रम सञ्चालन गरिने भएको हो । यो अभियानको संयोजन गर्ने जिम्मा संस्थाका उपाध्यक्ष जीत रानाभाटलाई प्रदान गरिएको छ ।

भर्चुअल रुपमा बिहीबार सम्पन्न संस्थाको आकस्मिक बैठकले निरीक्षण तथा सल्लाहकार समितिमा संस्थाकी अध्यक्ष शर्मिला हिराचन, स्वयंसेवक परिचालन समितिमा जीवन सेन, कोरोनाविरुको खोप सम्बन्धि सल्लाह, सुझाव समितिमा रुद्र गौतम, संसाधन व्यवस्थापन समितिमा सुशील प्रजापति र जनगणना तथा जागरूकता समितिमा पुण्य रेग्मीलाई संयोजक तोकेको छ ।

अत्यन्त कमजोर अवस्थामा रहेका ५० परिवारलाई राहत स्वरुप भिटामिन ‘सी’, भिटामिन ‘डी’, सिटामोल, फेस मास्क, ग्लोभ्स जस्ता अति आवश्यक मेडिकल सामग्री तुरुन्तै उपलब्ध गराइने भएको छ । कोरोनाविरुद्धको खोपसम्बन्धि सल्लाह, सुझाव, बुकिङ, स्वयंसेवक परिचालन गर्न तथा महामारीको कारणले कठिन अवस्थामा रहेको परिवारलाई दैनिक रुपमा आवश्यक पर्ने उपभोग्य समान वितरण लगायत कामहरु शुरु गरिने भएको छ ।

बैठकमा संस्थाका संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, भाषा तथा संस्कृति विभागका संरक्षक एवम् पूर्व अध्यक्ष हरि गोविन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ, पूर्व प्रमुख सल्लाहकार एलएन पाण्डे , सल्लाहकार तथा एनआरएनए आइसीसी सदस्य अर्कराज तिम्सिना, सल्लाहकार तथा आइसीसी सदस्य सुरज मास्के, संस्थाका उपाध्यक्ष तथा आइसीसी सदस्य लिलादेवी गुरुङ, एनआरएनए युकेका महासचिव फडिन्द्र भट्टराई, एनआरएनए इंग्ल्यान्ड राज्य समन्वय परिषदका अध्यक्ष दिपक श्रेष्ठ, क्याट युकेका अध्यक्ष जीवन सेन, क्याट युकेका सल्लाहकार तथा वरिष्ठ समाजसेवी राजन सुवेदी, हङकङ नेपाली समाजका अध्यक्ष ह्यारी गुरुङ, अन्तर्राष्ट्रिय धादिङ समाजका प्रवक्ता राजन खकुराल, पचा पुच साउथ इष्ट लन्डनका निवर्तमान अध्यक्ष सुशील प्रजापति, बुद्ध फाउन्डेसन यूकेका सचिव सुरेन्द्र रुपाखेती, सल्लाहकार तथा पासा पुच गुठी साउथ इष्ट लन्डनका अध्यक्ष माधवलाल श्रेष्ठ, सल्लाहकार तथा सोसाइटी अफ नेप्लिज् प्रोफेसनल यूकेका अध्यक्ष माधव पराजुली, पूर्व अध्यक्ष पुण्य रेग्मी, सचिव दिलिप पौडेल, जीगेसाका महासचिव हरि कुमार मल्ल, पशुपति मन्दिर यूकेकी सचिव कल्पना त्रिपाठी, सहकोषाध्यक्ष श्रद्धा थापा, कल्चरल संयोजक अञ्जना थापा, कार्यकारी सदस्यहरु अनिता केसी, रुद्र गौतम, खेम शर्मा, समाजसेवी दुर्गा पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

संस्थाकी अध्यक्ष शर्मिला हिराचनले बैठकमा सहभागिता जनाउने तथा अभियानमा सहयोगको प्रतिबद्धता गर्ने सम्पूर्ण सामाजिक अभियन्ताहरुलाई धन्यवाद दिइन् । उनले यस महामारीको समयमा तत्कालै संस्थाले गर्न सक्ने सहयोगका लागि समाजका सम्पूर्ण समाजसेवीहरुलाई एकजुट भएर सहयोग गर्न अपील पनि गरेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू