बुधबार, वैशाख १२, २०८१
14:26 | १९:११

इंग्ल्याण्डका पब तथा रेष्टुरेन्ट मे महिनासम्म नखुल्ने

नेपाली लिङ्क जनवरी २९, २०२१

लन्डन । कोरोना संक्रमण तीव्र रुपमा बढ्न थालेपछि तेस्रो चरणको लकडाउनका कारण बन्द रहेका इंग्ल्याण्डका पब तथा रेष्टुरेन्टहरु आगामी मे महिनासम्म बन्द रहने भएका छन् ।

हाल जारी लकडाउन सहजीकरण गर्ने तयारी भइरहेको पनि सरकारी अधिकारीहरुले बताएका छन् । आउँदो फेब्रुअरी २२ पछि हाल जारी लकडाउनबाट बेलायतवासीलाई मुक्त्ति दिलाउने सम्बन्धमा प्रधानमन्त्री बोरिस जोन्सनले खाका तयार गर्न शुरु गरेको बताइएको छ ।

प्रधानमन्त्रीले पनि पसल, पब तथा रेष्टुरेन्ट भने तत्काल नखुल्ने संकेत दिएका छन् । समाचार माध्यमले जनाएअनुसार इंग्ल्याण्डमा लकडाउन खुकुलो पार्न तीन चरणको योजना तयार भइरहेको तर, पब र रेष्टुरेन्ट भने मे महिनासम्म सञ्चालन नहुने बताइएको छ ।

लकडाउन कम्तिमा पनि मार्च ८ तारिखसम्म रहने र लकडाउन खुकुलो पार्ने क्रममा सर्वप्रथम स्कुलहरु आगामी मार्च ८ तारिखबाट खुल्ने अखबारहरुले जनाएका छन् ।

लकडाउन सम्बन्धि भावी नीति र प्रस्तावित विषयमा छलफल भइरहेको र कोरोना संक्रमण एवं कोरोना विरुद्धको खोपको प्रगतिको आधारमा थप निर्णयहरु गरिने अधिकारीहरुले बताएका छन् ।

प्रधानमन्त्रीको कार्यालयले भनेको छ, ‘स्कुलहरु सञ्चालनमा आइसकेपछि मात्र व्यवसाय तथा लिजर सेन्टरहरुलाई सञ्चालन अनुमति दिइनेछ ।’

लकडाउन हटाउनका लागि भाइरसको नयां भेरियन्टको प्रभावमा, खोपको प्रगति, अस्पताल भर्ना हुनेको संख्या र कोरोनाका कारण मृत्यु हुनेको संख्याका आधारमा भर पर्ने स्वास्थायमन्त्री म्याट ह्यान्ककले बताउंदै आएका छन् । तर, लकडाउन सहजीकरण गर्न कहिलेबाट र कस्तो नीति अपनाउने भन्ने बारेमा सरकार अझै स्पष्ट भइसकेको छैन्  ।

लकडाउनका कारण विशेषगरी हस्पिटालिटी क्षेत्रसंग सम्बन्धित व्यवसायहरु नराम्रोसंग प्रभावित परेका छन् ।

हाल रेष्टुरेन्ट व्यवसायमा आवद्ध सबैले टेकअवेमा मात्र सिमित रहनुपर्ने अवस्थाका कारण धेरै नेपाली व्यवसायीहरु पनि मारमा परेका छन् । झन्डै दश महिनाको अवधिमा लकडाउनका कारण थुप्रै व्यवसाय धरापमा परिसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू