शनिबार, वैशाख ८, २०८१
13:32 | १८:१७

बेलायतको यात्रा प्रतिवन्ध हटाउने नेपाल सरकारको तयारी

नेपाली लिङ्क जनवरी २८, २०२१

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

लन्डन । बेलायतबाट जाने यात्रुहरुलाई नेपाल प्रवेशमा लगाइएको रोक खुलाउने तयारी शुरु भएको छ ।

बेलायतमा कोरोना भाइरसको नयाँ ‘भेरियेन्ट’ फेला परेपछि एक महिनाअघि लागू गरिएको प्रतिवन्ध शर्तसहित खुलाउने तयारी नेपाल सरकारले गरेको हो ।

लन्डनस्थित नेपाली दूतावासका अनुसार यात्रा प्रतिवन्ध फुकुवा गरिएकोबारे अहिलेसम्म कुनै औपचारिक जानकारी सरकारबाट दूतावासलाई आइसकेको छैन । तर मन्त्रीपरिषद बैठकमा यसबारे छलफल र निर्णय समेत भइसकेको स्रोतले बताएको छ ।

दूतावासमा सम्पर्क गर्ने सेवाग्राहीलाई पनि ‘केही दिनभित्रै प्रतिवन्ध खुल्न सक्छ’ भन्ने जानकारी दिइएको छ ।

नेपाल सरकारले बेलायतबाट जाने यात्रुहरुलाई अनिवार्य रुपमा होटेल क्वारेन्टिन बस्नुपर्ने शर्तसहित यात्रा प्रतिवन्ध खुलाउने तयारी गरेको बुझिएको छ । त्यससवाहेक उडानमा बस्नुअघि कोरोना जाँचको नेगेटिभ नतिजासहितको रिपोर्ट पनि देखाउनुपर्ने नियम यसअघिदेखि नै कार्यान्वयनमा छ ।

बेलायतबाट जाने यात्रुहरुमाथिको प्रतिवन्ध कहिलेबाट खुल्छ भन्ने स्पष्ट भइनसकेको र नेपाल सरकारबाट आधिकारिक सूचना पर्खिरहेको लन्डन दूतावासको भनाइ छ । यात्रा प्रतिवन्धको घोषणासंगै लन्डन दूतावासबाट नेपालको भिसा जारी गर्ने कार्य समेत बन्द गरिएको थियो । यात्रा प्रतिवन्ध फुकुवा भएपछि भिसाको सेवा पनि सुचारु हुन सक्ने दूतावासले बताएको छ ।

यसअघि बेलायतमा कोरोना भाइरसको नयाँ ‘भेरियन्ट’ भेटिएपछि विश्वका धेरै मुलुकहरुले जस्तै नेपालले पनि डिसेम्बर तेस्रो सातातिर यात्रा प्रतिवन्ध घोषणा गरेको थियो । जसकारण नेपाल जाने तयारीमा रहेका कयौ नेपालीहरु बेलायतमै रोकिन बाध्य भएका छन् ।

बाबुआमाको काजक्रिया, परिवारका सदस्यको औषधोपचार लगायतका अति जरुरी कारणले नेपाल जानुपर्ने भएकाहरुको लागि भने दूतावासले सिफारिशपत्र बनाइदिएर जान सक्ने प्रबन्ध मिलाइएको छ ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू