शनिबार, वैशाख ८, २०८१
07:28 | १२:१३

गोर्खा आन्दोलनमा डा लक्सम्बाको योगदान अविस्मरणीय: गेसो

नेपाली लिङ्क जनवरी २७, २०२१

लन्डन । बेलायतस्थित बुद्धिजिवी एवम् गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको निधनमा  गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले दु:ख व्यक्त गरेको छ ।

गेसोका सल्लाहकार तथा गोर्खा  प्राविधिक समितिका सदस्य समेत रहेका लक्सम्बाको निधनप्रति दु:ख व्यक्त गर्दै गेसोले बुधबार एक शोक वक्तव्य जारी गरेको छ ।

सभापति कृष्ण कुमार राईद्वारा जारी वक्तव्यमा स्वर्गीय  डा. लक्सम्बालाई एक कुशल सल्लाहकारको रुपमा गेसोले स्मरण गरेको छ ।  

‘दुई सय पाँच वर्षदेखि गोर्खाहरुमाथि भएको विभेद अन्त्यका लागि बेलायत सरकारको प्रतिनिधि, नेपाली राजदूतावास र गोर्खाहरुबीच विभिन्न चरणको वार्ता पश्चात एक ऐतिहासिक १३ बुँदे प्रतिवेदन तयार पार्नमा उहांको अहम भूमिका थियो’, वक्तव्यमा उल्लेख छ ।  

डा. लक्सम्बा स्पष्ट वक्ता रहेको स्मरण गर्दै गेसोले गोर्खा आन्दोलनमा उनले लगाएको गुण सम्पूर्ण भूतपूर्व ब्रिटिश गोर्खाको लागि अविस्मरणीय रहेको बताएको छ 

गेसोको शोक वक्तव्यमा गेसो प्लमस्टिड समितिका सदस्य जितजंग गुरुङ र गेसो अल्डरसट समितिका सल्लाहकार रन बहादुर लिम्बूको निधनप्रति पनि दु:ख व्यक्त गरिएको छ ।  उनीहरुको निधनबाट  गेसोलाई मात्रै नभइ सिंगो गोर्खा आन्दोलनलाई नै अपुरणीय क्षति पुगेको गेसोको ठहर छ ।

मृतक अभियन्ताहरुले गोर्खा आन्दोलनलाई पुर्याएको योगदान सदा स्मरणीय रहने विश्वास गेसोले व्यक्त गरेको छ । उनीहरुले शुरु गरेर पूर्ण हुन नपाएका बाँकी कामलाई पूरा गर्ने वाचासहित गेसोका तर्फबाट परिवानजनमा गहिरो समवेदना पनि प्रकट गरिएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू