बिहीबार, चैत १५, २०८०
15:16 | २१:०१

लन्डनमा आत्महत्या गरेका गायक केसीको शव नेपाल पठाइंदै

डेथ सर्टिफिकेटको पर्खाइ

नेपाली लिङ्क जनवरी २७, २०२१

लन्डन । केही हप्ताअघि लन्डनमा आत्महत्या गरेका गायक बद्री केसीको शव नेपाल पठाइने भएको छ । स्वर्गीय केसीका बाबुआमा नेपालमा रहेकाले उनको अन्त्येष्टिका लागि शव नेपाल नै पठाउन लागिएको हो ।  

गत जनवरी ८ तारिखका दिन प्राण त्याग गरेका केसीको शव अहिले लन्डनको नर्थविक पार्क अस्पातलमा छ । शव नेपाल पठाउनको लागि सबै तयारी गरिएपनि ‘डेथ सर्टिफिकेट’ नआइसकेका कारण अहिलेसम्म पठाउन सकिएको छैन ।  

केसीको शव नेपाल पठाउन पहल गर्नेमध्येका एक राम थपलियाले नेपाली लिँकलाई दिएको जानकारीअनुसार पोस्टमार्टमको फाइनल रिपोर्ट आउन बाँकी रहेकाले ‘डेथ सर्टिफिकेट’ को लागि ढिलाई भएको हो ।  

‘हामीले अरु सबै तयारी पूरा गरेका छौं । शव नेपाल पठाउन आवश्यक खर्चदेखि फ्युनेरल कम्पनीसम्म बन्दोबस्त भइसकेको छ’, थपलियाले भने, ‘ट्राभल डकुमेन्टका लागि एम्बेसीसँग पनि कुरा गरेका छौं । डेथ सर्टिफिकेट आउनेवित्तिकै शव पठाउने तयारी छ ।’ 

‘डेथ सर्टिफिकेट’ अब चाँडै आइपुग्ने जानकारी गराइएको भन्दै उनले त्यसलगत्तै शव नेपाल पठाइने बताए ।  

लन्डनको एजवेरमा बस्दै आएका ३२ वर्षीय केसीको शव  रुखमा झुण्डिएको अवस्थामा जनवरी ९ तारिख शनिबार बिहान फेला परेको थियो ।  

त्यसको अघिल्लो दिन शुक्रबार दिउँसो करिब पौने ४ बजे निराश भावको फेसबुक स्टाटस लेख्दै उनले आफ्ना साथी, परिवार र संसारलाई नै ‘गुडबाई’ लेखेका थिए ।  

पोखरा घर भएका केसी झण्डै डेढ दशकअघि अध्ययनका लागि बेलायत आएका थिए । केही वर्षअघि नेपाल फर्किएका उनी पछि फेरि बेलायत आएका हुन् ।

बेलायतको नेपाली समुदायमा एक लोकदोहोरी गायकको रुपमा परिचित थिए केसी । अल्डरसटको निरमाया रोधीघरमा लामो समय लोकदोहोरी गायकका रुपमा काम गरेका उनले यहाँका कयौं ठाउँमा आयोजना हुने कार्यक्रममा समेत प्रस्तुति दिंदै आएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू