बिहीबार, वैशाख ६, २०८१
16:55 | २१:४०

इंग्ल्याण्डमा अब ७० वर्षमाथिकालाई पनि खोप, नेपालीहरु लाभान्वित  

नेपाली लिङ्क जनवरी १८, २०२१

लण्डन । इंग्ल्याण्डमा यसैहप्ताबाट शारीरिक रुपमा जोखिममा परेका ७० वर्षमाथिका मानिसलाई पनि खोप दिइने भएको  छ । सोमबारबाट १० भन्दा बढी नयाँ  खोप केन्द्र संचालन  गर्ने समाचार आएलगत्तै ७० वर्षमाथिका पनि खोपको प्राथमिकतामा परेका हुन् ।

कोरोना विरुद्धको खोपलाई तीव्रता दिएसंगै तेस्रो र चौथो प्रथामिकतामा परेका मानिसहरुलाई पनि खोप वितरण शुरु गर्न लागिएको हो ।

यद्धपि, शीर्ष दुई समूह अन्तर्गत ८० वर्ष र सो भन्दा  माथिका, केयर होम रेसिडेन्ट, अग्रपंक्तिमा काम गर्ने हेल्थकेयर वर्कर्सहरु अझै प्राथमिकताको सूचीमा रहेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ ।

हाल ३८ लाख ५७ हजार २६६ जनाले खोपको पहिलो डोज र चार लाख ४९ हजार ७३६ ले दोस्रो तथा अन्तिम डोज लिइसकेका छन् । शनिबारमात्र एकैदिनमा दुई लाख ९८ हजार ८७ जनालाई पहिलो डोज खोप उपलब्ध गराइएको थियो ।

पछिल्लो तथ्यांक अनुसार एक मिनेटमा १४० जनालाई कोरोना विरुद्धको खोप दिइएको सर साइमन स्टिभेन्सले बताए । कोरोना संक्रमण नियन्त्रणको लागि सोमबारबाट अन्य मुलुकबाट बेलायत भित्रिने यात्रुलाई पनि थप कडाइ गरिएने भएको छ ।

नेपाली पनि लाभान्वित

७० वर्षमाथि धेरै नेपाली छन् । हजारौंको संख्यामा बेलायतमा बस्दै आएका पूर्व गोर्खाहरु उक्त प्राथमिकतामा पर्दछन् । ७० वर्षमाथिका कति गोर्खालीहरु छन भन्ने यकिन तथ्याँक नभएपनि १५ हजार भन्दा बढी नै रहेको भूतपूर्व गोर्खा सत्याग्रह संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले नेपाली लिंकलाई बताए ।

तर, धेरै नेपालीहरुको ठेगाना र सम्पर्क नम्बर अध्यावधिक नभएका कारण सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न समस्या हुंदा खोप वितरणमा हुन सक्ने चिन्ता छ । आफ्नो ठेगाना तथा फोन नम्बर परिवर्तन भएमा वा अध्यावधिक नभएको भए तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यसका साथै धेरैजसोलाई भाषाको समस्या हुने भएकाले यदि फोन आएको छ र आफूले नबुझेको खण्डमा ‘नेपाली’ मात्र भनेपनि नेपाली भाषा बोल्न सक्ने मानिससंग कुरा गर्न पाउने सहज व्यवस्था गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू