शुक्रबार, वैशाख ७, २०८१
07:36 | १२:२१

लण्डनमा लकडाउनभर राहत-खाना निशुल्क बाँड्दै गोर्खा क्लब

नेपाली लिङ्क जनवरी १५, २०२१


लण्डन । बेलायत यतिखेर तेस्रो लकडाउनको चपेटामा छ । संक्रमण र निधन हुनेको संख्या उकालो लागेको लाग्यै छ । नेपाली पनि यो महामारीबाट पिल्सिएका छन् ।

यस्तो संकटमा साउथ इष्ट लण्डनमा रहेको गोर्खा क्लबले ब्यापार घाटा वेवास्ता गर्दै कोरोनाका कारण आइसोलेसनमा रहेका परिवारलाई निशुल्क राहत एवं खाना बाँड्ने अभियान शुरु गरेको छ ।  

कोरोना संक्रमित, बुढाबुढी र बिद्यार्थीहरुलाई घर घर गएर निशुल्क खाद्यान्न एवं पाकेको खाना वितरण गर्ने अभियानको शुक्रबार ९ दिनसम्म सयौंले लाभ लिइसकेका छन् ।

गोर्खा क्लबले एकदिनमा २० देखि ५० जनासम्मलाई निशुल्क खाना ख्वाएको छ । खाद्यान्न जस्तै दाल चामल, तेल, नुन, आलु प्याज, लसुन, चिया चिनी, अन्डा, बिस्कुट, टोम्याटो क्यान, चाउचाउ, भुजा र ट्वाइलेट रोल जस्ता सामग्री घरमै लगिदिने गरेको छ ।  

क्लबले सेवा गरेका आइसोलेसनमा रहेका चार घर परिवार अहिले कोरोना मुक्त पनि भइसकेका छन् ।                           

गोर्खा क्लबका संचालक मनिष श्रेष्ठले शुरुमा आफू र जहानबाट यो पून्य काम गर्ने ‘कन्सेप्ट’ ल्याएका थिए । तर उनको अभियानलाई आत्मसाथ गर्दै स्वतस्फूर्त सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरुको भिड नै छ अहिले । 


‘समस्त मानवमाथि आइपरेको विपत्तिका बेला मैले एउटा सानो प्रयासको सोच बनाएको थिएँ । अहिले धेरै साथीहरु जोडिनु भयो’-मनिषले नेपाली लिंकसँग भने, ‘तर म पैसा स्वीकार गर्दिन । हामी कसैको फोटो राखेर सार्वजनिक पनि गरिदिन्नौं । मन हुनेले खाद्य सामग्री दिन र क्लबमा आएर पकाउन सहयोग गर्न सक्नु हुन्छ ।’

अभियान ‘बाँच र बचाउ’ भन्ने मुल मर्म सहित गरिएको जनाउँदै मनिषले आफूले भगवानले दिएको भूमिका निर्वाह मात्र गरेको बताए । लकडाउनभरि यो सहयोग अभियान जारी रहने उनले जनाए । ‘कोरोना संक्रमित, बुढाबुढी र बिद्यार्थीहरुलाई अप्ठेरो परेको छ भने बिना संकोच सम्पर्क गरे हुन्छ । हामी घरमै ल्याइ दिन्छौं’- मनिष भन्छन् ।  

हालसम्म जमघट परिवार यूके, इनास यूके, प्रतिभा नक्षत्र यूके,पासा पुच: गुथी साउथ इष्ट यूके लगायत कयौँ ब्यक्तिले सहयोग गरिसकेका छन् ।

अभियानका सहयोगीहरु-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू