मंगलबार, वैशाख ४, २०८१
17:36 | २२:२१

अमेरिकामा आफ्नो काम भन्न लाज मान्नेहरु पत्रकार हुं भन्छन्ः नवीन रायमाझी

नेपाली लिङ्क जनवरी १०, २०२१

हाल अमेरिकामा बसोबास गर्छन् एकजना ‘छुच्चो’ पत्रकार नवीन रायमाझी । नेपाल छंदा दैनिक पत्रिकादेखि राष्ट्रिय टेलिभिजन च्यानलहरुमा पत्रकारिता गरेको अनुभव उनीसंग छ । लेखेर प्रशंसा होइन्, शत्रु बटुलेका छन् उनले किनकि स्पष्ट बोल्ने र जे देख्यो त्यही लेख्ने उनको बानी धेरैलाई अप्रिय लाग्छ । नेपालमा बिक्ने र अर्काको हुबहु चोर्ने पत्रकार अनि तलव नदिने सञ्चारगृहका मालिक नवीनको सधैं तारो बने ।

अमेरिका बस्ने नेपालीले आफ्नो धरातल बिर्सिएर देश र जनतालाई गाली गर्ने, आफूमात्र जान्ने बुझ्ने भएझैं नेपाल बस्नेलाई होच्याउने, अपमान गर्ने, रेष्टुरेन्टमा भाडा माझेर मालिक नै हुं जस्तो सान देखाउने, ऋणै ऋण र क्रेडिट कार्डले अडेको जिन्दगीलाई एकदम सुःखद भनेर गफ लगाउने जस्ता प्रवृत्ति विरुद्ध इकान्तिपुरमार्फत उजागर गर्दा उनलाई धेरैले सरापे पनि ।

हाल अमेरिकाबाटै सञ्चालित ब्रेक एण्ड लिंक्स डटकमसंग सम्वद्ध रायमाझी हाल आफूलाई पत्रकार मान्न भने तयार छैनन् । यो पेशा गरेर कसैको पनि जिवीका नचल्ने भएकाले पत्रकार भन्दा पनि सौखका लागि लेख्ने लेखक भन्नुपर्ने उनको धारणा छ । ‘अमेरिकामा नेपाली भाषाको पत्रकारिता गरेर मात्र मेरो जिवीका चलेको छ भनेर कसैले भन्छ भने त्यो एकाध बाहेकको हकमा सरासर झुटो हो’, रायमाझीको दावी छ ।

उनै रायमाझीसंग नेपाली लिंकले गरेको संवादको सारसंक्षेप यहां प्रस्तुत छः

तपाईं अमेरिका बसेर पनि पत्रकारितामा सक्रिय देखिनुहुन्छ । यसको ‘रिटर्न’ पक्कै राम्रो भएर हो कि ?

अमेरिकामा बसेर नेपाली पत्रकारिता गरेको भन्दा पनि आफूले जे जति जानेको छु यो कुरा अरु अरुलाई सेयर गरेको भन्दा राम्रो होला । नेपालमै पत्रकारिता गरेर पेट पाल्न कठिन भएको अवस्थामा अमेरिकामा नेपाली भाषामा पत्रकारिता मात्र गरेर जिवीका चलाउन असम्भवप्राय छ । अपवादका रुपमा एक-दुई जनाबाहेक अरु कसैले नेपाली भाषाको पत्रकारिताले जिविका चलाउन सकेका छैनन् । यहां आफूले गर्ने काम खुलाउन लाज मानेर आफूलाई पत्रकार भन्नेहरु धेरै छन् ।

तपाईंलाई लेखनमा किन सधैं छुच्चो हुनु परेको ?

जहांसम्म अरुलाई आघात पर्ने गरि लेख्ने कुरा छ, कसैको भावनामा ठेस पुरयाउने मेरो मनसाय पटक्कै होइन । मेरो मान्यता के छ भने हामी अरुका अगाडि सान दिन आफ्नो काम र अवस्थाको बारेमा बढाइचढाई बोल्ने गर्छौं । यद्यपि म पनि त्यसको अपवाद नहुंला तर यस्तो गतिविधिले गलत सूचना जान सक्छ भन्ने मेरो मनसाय हो । म पहिले प्राय लेखाइमा बिम्ब प्रयोग गर्थें तर त्यसको कुनै अर्थ नभएको जस्तो लागेर सिधै लेख्न थालेको हुं । अब सत्य र सिधा कुरा लेख्दा अर्थात् कालोलाई कालो भन्दा कसैलाई मन पर्दैन भने त्यो उसको समस्या हो । म त्यसमा केवल दुःख प्रकट गर्न सक्छु तर जिम्मेवारी लिन सक्दिन् । दुःखको साथ भन्नु पर्छ हामी नेपालीहरु ‘सेन्स अफ ह्यूमर’ को मामिलामा ज्यादै गरिव छौं, बिम्ब प्रयोग गरेर लेख्यो भने कसैले बुझ्दैन, सायद ममा त्यो योग्यता नभएर हो कि ।

तपाईं आफूलाई मात्र जान्ने बुझ्ने पत्रकार ठान्नुहुन्छ भन्ने आरोप छ नि ?

त्यस्तो पटक्कै होइन् । लेख्ने विषयमा मेरो अवस्था शिशु कक्षाको विद्यार्थी जस्तै हो । मैले अझै धेरै सिक्नु छ । उसैपनि सबैजना सिक्दै छन् । फरक यत्ति हो कसैले धेरै सिकेका होलान् मैले थोरै मात्र सिक्न सकेको छु । यहां पनि म अहिले नेपालमा भएको भए अमुक पत्रिकाको सम्पादक हुन्थें भन्ने साथीहरु धेरै हुनुहुन्छ । त्यस्ता साथीहरुलाई मेरो सल्लाह खुरुक्क नेपाल गएर उक्त पत्रिकाको सम्पादक बन्नु भन्ने छ । मेरो विचारमा कसैको पनि ‘फ्रस्ट्रेसन’ संग अरुको वास्ता हुन्छ होला जस्तो लाग्दैन । त्यसैले यस्तो कुरा गर्नु भनेको समयको बर्बादी मात्र हो ।

अंग्रेजहरुको देशमा बसेर नेपाली भाषामा मात्र सिमित हुनुको कारण चाहिं के छ ?

अंग्रेजी भाषामा लेख्यो भने महान हुने र नेपाली भाषामा लेख्दा निम्छरो हुने गणित मैले बुझेको छैन् । जहांसम्म मेरो कुरा छ मैले नेपाली भाषामा जति कुरा ब्यक्त गर्न सक्छु त्यो पक्कै पनि अंग्रेजी भाषामा ब्यक्त गर्न सक्दिन् । उसैपनि सरकारी स्कुलमा अध्ययन गरेको र विपन्न परिवारको प्रतिनिधित्व गर्ने मेरो अंग्रेजी भाषामा दख्खल छैन् । फेरि नेपाली भाषामा ज्ञाता छु भन्ने अर्थ नलागोस् ।

अमेरिकामा नेपाली पत्रकारका संघसंस्था पनि छन् । तिनले नेपाली पत्रकारका हकहित र समुदाय सूसुचित गराउने कुरामा कत्ति सक्रिय छन् ?

नेपालीमुलका पत्रकारका केहि संघसंस्था छन् भन्ने सुनेको छु तर म कुनै पनि संस्थाको सदस्य छैन् । सायद त्यो योग्यता नपुगेर होला कसैले मलाई त्यस्तो प्रस्ताव राखेको पनि छैन् । वास्तवमा भन्नुहुन्छ भने मलाई त्यस्ता संघसंस्था फाल्तु लाग्छ ।

विदेशका पत्रकारहरुको दायित्व के हुन्छ तपाईंको विचारमा ?

हामीले यहां बसेर नेपालको राजनैतिक घट्नाहरुको बारेमा तर्क वितर्क गर्नुभन्दा पनि यहां बस्ने नेपालीले भोग्नु परेका समस्याबारे लेख्नुपर्छ जस्तो लाग्छ । तर यहां कोही कसैको कुरा सुन्न तयार नै छैनन् । जसले जानेका छन् उनीहरु सम्पर्कबाट टाढा छन् र जसले कुनै कुरा जानेको नै छैन् उसैले सबैलाई सिकाइ रहेको छ । अल्पज्ञान कतिको खतरनाक हुन्छ त्यो मैले बुझाइरहनु पर्ला जस्तो लाग्दैन् ।

प्रवासमा तपाईंको पत्रकारिता के स्वार्थसंग जोडिएको छ ?

मैले माथि नै भनें नि लेख्नु पत्रकारिता भन्दा पनि मेरा लागि मनोरन्जन हो । अर्को शब्दमा धंग धंगी वा ‘कल्चरल सक’ भन्दा पनि हुन्छ वा नेपालमा रहंदाको आफ्नो परिचय गुमाउन नचाहेको अवस्था पनि हो । मेरो विचारमा यहां बसेर नेपालका पाठकहरुलाई सूसुचित गर्छु भन्नु जति सजिलो छ, व्यवहारमा उत्तिकै चुनौतीपूर्ण छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू