शुक्रबार, चैत १६, २०८०
09:34 | १५:१९

सपन राईलाई उत्कृष्ट गायन अवार्ड

नेपाली लिङ्क जनवरी २, २०२१

लण्डन । तीन दशकदेखि बेलायतमा रहेर नेपाली कला र गीत संगीतकै क्षेत्रमा क्रियाशिल गायक सपनकुमार राईले उत्कृष्ट गायन अवार्ड प्राप्त गरेका छन् । नेपालमा पहिलोपटक आयोजना भएको ‘स्पर्श म्यूजिक भिडियो अवार्ड २०२०’ मा उत्कृष्ट गायक (पुरुष) विधाको अवार्ड उनले जितेका हुन् ।

सपनले गाएको ‘बाटोको काँडा हटाइदिए..’ बोलको गीतको लागि यो अवार्ड मिलेको हो । चर्चित संगीतकार ताराप्रकाश लिम्बूको संगीत तथा शब्द रहेको गीत र यसको म्यूजिक भिडियो करिब ६ महिनाअघि रिलिज गरिएको थियो ।

शनिबार ललितपुरमा सम्पन्न अवार्ड वितरण समारोहमा सोही गीतको म्यूजिक भिडियो समेत निर्देशन गरेका निर्देशक मिलन चाम्सले सपनको अवार्ड थापेका थिए ।

टच इन्टरटेनमेन्ट, स्पर्श फिल्मस् र पेजेन्ट नेपाल इन्टनेसनल मिडियाको संयुक्त आयोजनामा पहिलोपटक ‘स्पर्श अवार्ड’ आयोजना भएको हो । जहाँ नेपाली संगीत क्षेत्रसंग सम्बन्धित विभिन्न ५० विधामा अवार्ड वितरण गरिएको थियो ।

तीन दशकभन्दा लामो समयदेखि बेलायतमा बस्दै आएका सपन नेपाली कला र गीत संगीतका क्षेत्रमा निरन्तर सक्रिय छन् ।

आधा दर्जन बढी गीतहरु रेकर्ड गराइसकेका उनले लामो समय बेलायतस्थित इण्डियन क्लबहरुमा व्यवसायिक गायकको रुपमा गाउँदै आएका थिए । उनले नेपाली समुदायमा आयोजना हुने विभिन्न कार्यक्रममा समेत निरन्तर आफ्नो गायन प्रस्तुत गर्ने गरेका छन् ।

बेलायतस्थित सपन इन्टरटेनमेन्टका निर्देशक समेत रहेका उनले बेलायतमा थुप्रै नेपाली चलचित्र प्रदर्शनी तथा नेपाली कलाकारका कन्सर्ट आयोजना गरिसकेका छन् ।

सपन इन्टरटेनमेन्टकै आयोजनामा बेलायतका युवा नेपाली प्रतिभामाझ हरेक वर्ष यूके डान्स अफ नामक नृत्य प्रतियोगिता हुंदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू