शुक्रबार, वैशाख १४, २०८१
18:57 | २३:४२

सन्दीप लामिछानेले बिगबासमा पहिलो खेल शनिबार खेल्ने  

रासस जनवरी १, २०२१

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् । चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उहाँको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् । लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरस सङ्क्रमणका कारण यस यामका शुरुवातका छ खेल गुमाएका थिए ।

नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो । अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित भएको व्यवस्थापक शिवाकोटीले जानकारी दिए । उनी बुधबार क्वारेन्टाइन मुक्त भएका हुन् । उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । हालसम्म खेलेका छ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा छ ।

बिगबास खेल्न लामिछाने गत मङ्सिर ३० गते अष्ट्रेलिया गएका थिए । क्वारेन्टाइन अवधि सकिएपछि उनी नियमित अभ्यासमा जुटेको व्यवस्थापक शिवाकोटीले बताए । लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुने बताइएको छ । उनले तेस्रो पटक बिगबास लिग खेल्न लागेका हुन् । लामिछानेले यसअघि दुई यामको बिगबास मेलवर्न स्टार्सबाट खेलेका थिए । ती दुई याममा उनले कूल २० खेल खेल्दै २६ विकेट लिएका थिए ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा लामिछाने कोरोनाबाट सङ्क्रमित भएपछि केही समय आराम गर्दै त्यसबाट मुक्त भएपछि मात्र उनी अष्ट्रेलिया उडेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू