मंगलबार, वैशाख ११, २०८१
18:23 | २३:०८

बेलायतका अस्पतालमा कोभिड बिरामी स्याहार्दै नेपाली स्वास्थ्यकर्मीहरु

नेपाली लिङ्क डिसेम्बर २५, २०२०

लन्डन । लन्डन वाटफोर्ड जनरल हस्पिटलका कन्सल्टेन्ट फिजिसियन एवं एक्युट मेडिसिन डिपार्टमेन्टका क्लिनिकल डिरेक्टर डा. मोहन थापालाई अहिले कामको चापले एकछिन 
फुर्सद छैन् । आफ्नो अस्पतालमा कोरोना भाइरसको पहिलो लहर अप्रिलको ‘पिक’ भन्दा बढी बिरामी भर्ना हुंदा उनलाई भ्याइनभ्याइ छ ।

‘पहिलोपटक एनएचएस कोभिड हस्पिटलका रुपमा परिणत भएका थिए । बहिरंग, अप्रेसन र अरु सेवा बन्द गरेर कोभिड बिरामीमात्र जांचिएको थियो । तर यसपटक अन्यसहित कोभिड बिरामीले अस्पताल फूल छ’, डा. थापाले भने, ‘जाडो याम यसैपनि प्रेसर हुने समय हो । त्यसमाथि जनशक्ति अभाव र कोरोना भाइरस तीव्र फैलिरहंदा अहिले बेलायतका अस्पतालले भार खेप्न सकिरहेका छैनन् ।’
बेलायतमा कोरोना भाइरसको दोश्रो लहर उच्च विन्दूमा पुगिरहंदा इंग्ल्याण्डका करिब ९० प्रतिशत बेड भरिइसकेका बताइएको छ । अग्रपंक्तिमा कार्यरत चिकित्सकहरुले स्थिति भयावह हुन सक्ने चेतावनी दिएका छन् ।

दक्षिण इंग्ल्याण्डमा अस्पताल भर्ना हुनेको संख्या वृद्धि भइरहेको छ । त्यसो त बेलायतको राजधानी लन्डनमामात्र एकसाताभित्र ६० हजार बढी संक्रमण पुष्टि भएको छ । एक सरकारी तथ्यांक अनुसार डिसेम्बर १९ सम्म तीनदिनमा एकहजार एकसयभन्दा बढी कोभिड बिरामी अस्पताल भर्ना भए । दक्षिण पश्चिम लन्डनको टुटिङस्थित सेन्ट जोर्ज, क्यामडेनको रोयल फ्रि, पूर्वी लन्डनमा कयौं अस्पताल सञ्चालन गर्ने बार्टस हेल्थ एनएचएस ट्रष्ट, बार्किङ, हेभरिङ र रेडब्रीज ट्रष्टले कोभिड चापका कारण अप्रेसन रद्द गरेका छन् ।

क्यालडरडेल एण्ड हडर्सफिल्ड, पोर्टसमथ हस्पिटल्स युनिभर्सिटी र स्याण्डवेल एण्ड वेष्ट बर्मिङघम गरि तीनवटा ट्रष्टले डिसेम्बर १३ भित्र आफ्ना सबै क्रिटिकल केयर बेड भरिइसकेको बताएका छन् ।

डा. मोहन थापा

विहीबार साँझसम्ममा बेलायतका अस्पताल भर्ना हुने संक्रमितको संख्या २१ हजार २८६ पुगेको ‘नेशनल हेल्थ सर्भिस’ (एनएचएस) ले जनाएको छ । पछिल्लो २४ घन्टामा मात्र दुई हजार १४३ जना संक्रमित अस्पताल भर्ना भए । पछिल्लो समय एकै दिनमा अस्पताल भर्ना हुनेको संख्या यो नै सबैभन्दा बढी हो ।

हाल बेलायतमा देखिएको नयां किसिमको भाइरस ‘भियूआइ २०२०१२०१’ यस अघिको भन्दा ७० प्रतिशतसम्म बढी संक्रामक रहेको वैज्ञानिकहरुले बताएका छन् । बेलायतमा बिहीबारमात्र ३९ हजार ३६ जना नयां संक्रमित थपिए ।

डा. थापाका अनुसार, बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले गत जुलाइदेखि काममा जाने स्वास्थ्यकर्मीको जोखिम बुझ्न ‘अकुपेशनल कोभिड रिस्क एसेसमेन्ट’ गर्न थालेपछि ६० वर्ष माथिका, डायबेटिज, मुटु वा अन्य दीर्घरोगबाट समस्या हुने चिकित्सक, नर्सहरु काममा छैनन् । अहिले स्वास्थ्यकर्मी र अग्रपंक्तिका कामदारको सेल्फ टेस्टिङ 
(आफैंले कोभिड परीक्षण गर्ने) नियम लागू भएकाले आइसोलेसन बस्ने डाक्टर, नर्स पनि उत्तिकै छन् । यसले पनि जनशक्ति अभाव थप बढेको हो ।

इंग्ल्याण्डमा स्वास्थ्य प्रणालीमा काम गर्ने स्वतन्त्र थिंक ट्यांक किङस्फण्डका अनुसार बेलायतमा ३८ हजार नर्सिङ वर्कफोर्सको भ्याकेन्सी छ भने ब्रिटिश मेडिकल एसोसिएसन (बीएमए) को तथ्यांकमा ८ हजार भन्दा बढी मेडिकल डक्टर अभाव छ । जनशक्ति अभावले पनि ‘वीन्टर प्रेसर’ खेप्न अस्पताललाई सास्ती छ ।

असहज परिस्थितिबीच अस्पतालहरुमा पहिले जस्तो व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) अभाव नभएको र कोभिड खोप दिन शुरु भइसकेकाले आशावादी हुने ठाउं भने रहेको थापाले बताए ।

बेलायतमा कोरोना भाइरसले स्वरुप बदलेर संक्रमण तीव्र 
फैलिएपछि विश्वका नेपालसहित झण्डै ५० बढी देशले यहांबाट जाने उडानमा प्रतिवन्ध घोषणा गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू