शनिबार, वैशाख ८, २०८१
20:53 | ०१:३८

ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाइयो

नेपाली लिङ्क डिसेम्बर २२, २०२०

काठमाडौं    नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

मंगलबार काठमाडौंमा सम्पन्न बैठकले पार्टीको अन्तरिम विधानअनुसार ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो ।  

ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र र पार्टी एकताविरुद्धमा कार्य गरी अनुशासनको गम्भीर उल्लंघन गरेको ठहरसहित पार्टी अध्यक्षबाट हटाउने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

ओलीलाई हटाइएपछि रिक्त एक अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरिएको छ ।

बैठकमा ३१५ केन्द्रीय सदस्य उपस्थित रहेको प्रवक्ता श्रेष्ठले बताए । नेकपामा ४४१ केन्द्रीय सदस्य थिए । पार्टी एकतापछि मनोनित ६ सदस्यको नाम निर्वाचन आयोगमा पठाइ नसकेकाले ४४१ सदस्यलाई आधिकारिक मानिएको हो ।  दाहाल-नेपाल समूहको गणनालाई आधार मान्दा दुई तिहाइ बढी केन्द्रीय सदस्य यो समूहसँग छन् ।

बैठकले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा मनोनीत गर्ने स्थायी कमिटीको प्रस्तावलाई पनि अनुमोदन गरेको छ ।

बैठकले संसद विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, निरंकुश र स्वेच्छाचारी भन्दै भर्त्सना र अस्वीकार गर्ने निर्णय गरेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकले अविलम्ब संसदको अधिवेशन आह्वान गर्न र संसदको नियमित काम सञ्चालन गर्न माग गरेको छ । संसद विघटनको निर्णयविरुद्ध संघर्ष गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए ।

प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीको अर्को बैठक बिहीबार बिहान साढे ११ बजे बस्ने भएको  छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू